बिर्तामोड, बैशाख २९ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेकी छिरिङको झोला प्रहरीले जाँच गरेको थियो ।
जाँच गर्दा लुकाइछिपाइ राखेको २ किलो ५ ग्राम चाँदीको दुई थान डल्लो र २८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको थियो ।
अवैध चाँदीसहित पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी चन्दले जानकारी दिए ।