दमक, बैशाख २९ । दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले बताए ।
उनका अनुसार प्राधिकरणले आफ्नो स्वामित्वका विद्युतीय पोलमा टाँगिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थित गर्न यो काम थालेको हो ।
प्राधिकरणले चार सय भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेन्टिमिटरको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच दुई दशमलव चार मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ ।
त्यसैगरी, चार सय भोल्टको ‘इन्सुलेटेड’ तार र अन्य तारबीच ३० सेमिको दूरी र यस्तो पोलमा पैदलमार्गसँग तारको दूरी पाँच दशमलव पाँच मिटर कायम गर्नुपर्ने प्राधिकरणले जनाएको छ । उनले तार हटाउने कार्यसँगै सडक मापदण्डअनुसार २९० वटा पोल समेत हटाइने जानकारी दिए ।
अहिले ठुला पोल गाड्ने काम भएकाले सोही पोलमा अन्य कम्पनीका तारहरु सार्न लगाइएको उनले बताए । आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता कायम राख्न यो काम थालिएको उनको भनाइ छ ।
केबल, इन्टरनेट, टिभीलगायतका तारहरु नयाँ पोलमा सार्न नगरपालिकामार्फत व्यवसायीलाई अनुरोध गरिएको छ ।
एघार केभी र ३३ केभी लाइनमा विद्युतको तार र अन्य तारबीचको दूरी दुई मिटर, चार सय भोल्टका उपकरण र तारबीचको दूरी ७५ सेमि हुनुपर्ने प्राधिकरणको नियमावलीमा उल्लेख छ ।
प्राधिकरणले राउटर, रिपिटर, एक्ट्र्याक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एकातर्फ क्रम मिलाएर नहल्लिने, नझर्ने गरी क्लिप ब्यान्डको प्रयोग गरी राख्न निर्देशन दिएको छ ।
दमक नगरपालिकाको पहलमा विद्युत् प्राधिकरणले बजारभित्रको विद्युत आपूर्ति व्यवस्था गर्न सडकको दुवै किनारमा विद्युत पोलसहितको तार जडान गर्ने काम भइरहेको दमक नगरप्रमुख रामकुमार थापाले बताए ।
विद्युतीय पोल प्रयोग गरी जथाभावी झुन्ड्याइएका उपकरणले सहरलाई कुरुप बनाएको उनको भनाइ छ । दमकमा विभिन्न नाममा सञ्चालित ३२ वटा कम्पनीले तार जडानको काम गर्दै आएका छन् ।