बिर्तामोड, बैशाख ३० । हिजो साँझदेखि झापाका अलगअलग स्थानमा फरकफरक समयमा वर्ष भए पनि अहिले बिहान रोकिएको छ । मौसम बादल लागेर धुम्म भएको छ ।
हाल झापासहित नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार झापासहित कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । झापामा साढे ७ बजेदेखि १२ बजेसम्म मध्यम वर्षको सम्भावना छ ।
आइतबार दिउँसो तथा राति झापामा आंशिकदेखि साधारणतया बदली रहनेछ । केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । पछिल्लो २४ घन्टामा झापामा ८८.६ मिलिमिटर वर्षा मापन भएको छ ।