मेचीनगर, बैशाख ३० । मोफसलकै उत्कृष्ट शैक्षिक गन्तव्य मेचीनगरको इस्ट होराइजन माविमा यस वर्षदेखि बेलायत (युके) स्थित क्याम्ब्रिज विश्वविद्यालयको कोर्स अध्ययन सुरु गरिएको छ ।
आइतबार एक कार्यक्रम आयोजना गरेर इस्ट होराइजन मावि र क्याम्ब्रिज विश्वविद्यालयका प्रतिनिधिबीच अध्ययन सम्झौता गरिएको छ । सम्झौतापत्रमा विद्यालयका प्रिन्सिपल सञ्जीव राई र क्याम्ब्रिजका प्रतिनिधि डक्टर रोशन राठी, प्रविन ठाकुरले हस्ताक्षार गरेका छन् ।
वैदेशिक अध्ययन तथा विश्वव्यापी अंग्र्रेजी शिक्षालाई अझ सबल बनाउने उद्देश्यअनुरुप क्याम्ब्रिज कोर्सको अध्ययन सुरु गरिएको विद्यालयका प्रिनिसपल राईले बताए ।
मेचीनगरमै पहिलोपटक इस्ट होराइजन माविले क्याम्ब्रिज कोर्सको अध्ययन गराउने अवसर प्राप्त गरेको छ ।
अहिलेको विश्वव्यापी शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले क्याम्ब्रिज कोर्समा विद्यार्थीलाई अध्ययन गराउने अवसर प्रदान गरेको हो । इस्ट होराइजन माविमा क्याम्ब्रिज कोर्स कक्षा ५, ६ र ७ मा लागु गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, मेचीनगरका शिक्षा शाखा अधिकृत पवित्रा ढकाल, क्याम्ब्रिजका प्रतिनिधि राठी, ठाकुर, तक्षशिला फाउन्डेसनका डक्टर भिक्टोरले सम्बोधन गरेका थिए ।
कार्यक्रममा क्याम्ब्रिज कोर्सका विषयमा अडियो र भिडियोमार्फत जानकारी गराइएको थियो । त्यस क्रममा प्रतिनिधिहरुले विद्यार्थीको भविष्य र दक्षताअनुसारको अध्ययनका लागि क्याम्ब्रिज कोर्स उपयोगी हुने बताए ।
सोही अवसरमा विद्यालयमा अध्ययनरत १३ वर्षभन्दा कम उमेर समूहमा राष्ट्रिय खेलाडीमा छनोट भएका तीनजना खेलाडीलाई सम्मान गरिएको थियो ।
विद्यार्थी र शिक्षिकाहरुले नेपाली संस्कार–संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक संगीता थापा र विकास ग्वालले गरेको शिक्षक महेश खड्काले जानकारी दिए ।