मेचीनगर, जेठ २ । टोल तथा समाजमा प्रयोगकर्ता बढ्दै गएपछि बाहुनडाँगी जेसिजले लागुऔषध दुर्व्यसनविरुद्धको सप्ताह सुरु गरको छ ।
बाहुनडाँगी जेसिजको अभियान, लागुऔषधरहित समाजको पहिचान भन्ने नाराका साथ आजबाट विद्यालय विशेष कार्यक्रम सुरु भएको हो ।
मेचीनगर ४ को सरस्वती माविबाट सुरु भएको अभियान सात दिनमा साविक बाहुनडाँगी हालको मेचीनगर १, २ ३ र ४ वडाका १५ वटा संस्थागत तथा सामुदायिक विद्यालयमा सञ्चालन हुने अध्यक्ष देबु बानियाँले बताए ।
प्रयोगकर्ता बढ्दै गएको र यसलाई न्यूनीकरण गर्न हरेक विद्यालयमा पुग्नेगरी अभियान सञ्चालन गरिएको हो । सरस्वती मावि, पशुपति मावि, पवित्र मावि, जनता मावि, भानु मावि, मेची जनसाधारण मावि र बलभद्र आविमा सञ्चालन हुने अभियानमा अन्य विद्यालयहरुलाई सहभागी गराइनेछ ।
अभियानको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए । कार्यक्रममा सरस्वती मावि र विद्या विकास एकाडेमीका ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अभियानमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुनडाँगी प्रहरी चौकीले सहजीकरण गर्नेछन् ।
शाखाका अध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नुरकुमार राई, पवन बराइली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेल, सशस्त्र प्रहरी बल बाहुनडाँगीका सशस्त्र प्रहरी निरिक्षक धु्रव भट्ट, बाहुनडाँगी प्रहरी चौकीका प्रमुख उमेश श्रेष्ठ, सरस्वती माविका प्रधानाध्यापक भीम श्रेष्ठ, बाहुनडाँगी जेसिजका संस्थापक उपाध्यक्ष निरज पोखरेल लगायत सहभागी थिए ।
तालिम संयोजक रिना दर्जीले स्वागत गरेको कार्यक्रममा आस्था वाचन विवेक तामाङ र सञ्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् ।