बिर्तामेड, जेठ ३ । आन्तरिक राजस्व कार्यालय झापाले चालु आर्थिक वर्षको दस महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्ममा सो रकम संकलन भएको हो ।
एक अर्ब २१ करोड ११ लाख ८० हजार रुपैयाँ आयकरबापत, ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्कबापत र मूल्य अभिवृद्धि करबापत ८४ करोड ७६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
कार्यालयले राजस्व संकलनमा लिएको दस महिने लक्ष्यभन्दा ५१ करोड २३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलनमा कमि आएको छ । सो अवधिको राजस्व संकलनको लक्ष्य दुई अर्ब ८९ करोड ४७ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
उद्योगधन्दा तथा व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालयका प्रमुख काफ्लेको भनाइ छ ।
झापामा ठुला करदाताको रुपमा बिगतमा चिनिएका तीनवटा सिमेन्ट उद्योगहरु मित्तल, मनसा र सनराइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् । व्यापारिक कारोबारमा समेत तीव्रता आउन नसक्दा यसको असर राजस्व संकलनमा परेको उनले बताए ।
जिल्लामा आन्तरिक राजस्व कार्यालयको कर संकलनको मुख्य स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फर्म र व्यावसायिक प्रतिष्ठानहरु नै रहेको उहाँले बताउनुभयो । कार्यालय मातहतमा आयकरतर्फ ४७ हजार १३१ र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ छ हजार ३१४ करदाता रहेका छन् ।