मेचीनगर, जेठ ४ । झापाको सीमावर्ती सहरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशील समाजवादी साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ ।
आज काँकरभिट्टास्थित पूर्व मेची बस व्यवसायी संघको हलमा एक कार्यक्रमका बीच संस्थाका पूर्वकर्मचारी एवम पत्रकार सन्तोष आचार्यको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरिएको हो ।
प्यानलका उम्मेदवारहरुमा उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा दिलीपजंग सुब्बा र कोषाध्यक्षमा विमला तामाङ रहेका छन् ।
त्यस्तै, सदस्य पदका उम्मेदवारहरुमा तीर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले, मिरा कार्की र इन्दिरा बुढाथोकी कार्की रहेका छन् ।
लेखा समिति संयोजकमा विकेन्द्र धिमाल, सदस्यहरुमा जस्ना राजवंशी र बालकुमार भुजेलले उम्मेदवारी दिएका छन् ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा करिब ८ हजार उपभोक्ता रहेका छन् । अघिल्लो निर्वाचनमा ५ हजार २७८ मतदाता रहे पनि ३ हजार ९५७ ले मात्र मतदान गरेका थिए ।
संस्थाले जेठ ६ गतेभित्र नयाँ धारा जडान गर्ने, नामसारी गर्ने र मतदाता परिचयपत्र बनाउने उपभोक्तालाई मात्र निर्वाचनमा सहभागी गराउने जनाएको छ । संस्थाको २८ औँ साधारणसभाले यही जेठ २६ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो ।