२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका दुई पालिका हाँकिरहेका महिलाः विवाद कम, अब्बल काम


बिर्तामोड, जेठ ६ । झापाका १५ पालिकामध्ये दुई पालिकामा महिलाको नेतृत्व रहेको छ । झापाका एक नगरपालिका र एक गाउँपालिका महिलाले हाँकिरहेका छन् ।

स्थानीय सरकारको नेतृत्व गरिरहेका महिला प्रमुखहरू सबैले अब्बल काम गरेर देखाउने प्रयास गरेका छन् । आफ्नो कार्यकाल सकिँदा महिलाले चलाएका पालिका भनेर चिन्नसक्ने परिणाम दिने अठोट उनीहरूको छ ।

तथापि महिला प्रमुख भएको पालिकाहरूमा पुरुषको विभेद भने कायमै रहेको गुनासो सुन्ने गरिएको छ । ‘महिलाले के नै गर्न सक्छन्’ भनेर लान्छना लगाउने प्रयास भइरहेको अनुभूति उनीहरू स्वयमले गरिरहेका छन् ।

पुरुषप्रधान समाजलाई चिरेर महिलाले नेतृत्व गरेको सरकार भनेर छुट्टै तरिकाले चिनाउने उनीहरूको अठोट छ । उनीहरुले नेतृत्व गरेका पालिकामा छिटफुटबाहेक कतै ठुलो विवाद देखिइएको छैन ।

झापाको बिर्तामोड नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा महिला नेतृत्व छ । दुवै पालिकामा अघिल्लो कार्यकाल उपप्रमुख र उपाध्यक्ष उनीहरु प्रमुख र अध्यक्ष भएर नेतृत्व गरिरहेका छन् ।

पवित्रा महतारा, नगरप्रमुख, बिर्तामोड नगरपालिका

नेतृत्वमा आएपछि महतराले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरेकी छिन् । आफू निर्वाचित भएर आउनुअघि सरकारी विद्यालयको दुरावस्था रहेको उनले बताइन् ।

‘सामुदायिक विद्यालयमा छोराछोरी पढाउँछु भन्दा अभिभावक लजाउने अवस्था थियो,’ उनले भनिन्, ‘अहिले विद्यालयहरूको अवस्थामा सुधार भएको छ । शिक्षकलाई तालिमदेखि प्रोजेक्टरबाट अध्ययन–अध्यापन गराउने, सबै विद्यालयमा स्मार्ट बोर्ड तथा इहाजिरीको व्यवस्थापनसमेत नगरपालिकाले गरेको छ ।’

नगरपालिकाका १० वटै वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । नगर अस्पताल बनाएर दैनिक पाँच सयभन्दा धेरैलाई सेवा दिने गरिएको छ । तीनजना विशेषज्ञ र चारजना मेडिकल अधिकृतको व्यवस्थापन गरेर नगर अस्पताल सञ्चालन भएपछि सामान्य उपचार लिन भद्रपुर पुग्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन् ।

महिलाको रुपमा पालिकाको नेतृत्व गर्न पाउँदा गौरवको महसुस भए पनि धेरै संघर्ष गर्नु परेको उनी बताउँछिन् । ‘महिला भनेर डोमिनेट गर्ने, अफवाह फैलाउने, धम्कीहरू दिने, काम गर्दा घेराबन्दी गर्नेजस्ता गतिविधिले मलाई हैरान बनाएको छ’, उनले गुनासो गरिन् । सबै चुनौतीलाई सामना गरेर अगाडि बढेको उनी बताउँछिन् ।

फूलबती राजवंशी, अध्यक्ष, गौरीगञ्ज गाउँपालिका

अध्यक्ष निर्वाचित भएपछि स्वास्थ्य र शिक्षामा जोड दिएर काम गरिरहेको राजवंशी बताउँछिन् । गौरीगञ्ज भारतसँग सीमाना जोडिएको दुर्गम पालिका भएकाले शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्नु प्रमुख आवश्यकता रहेको उनको भनाइ छ ।

शिक्षा क्षेत्रमा ११ र १२ मा निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम पालिकाले अगाडि बढाएको छ । छात्राहरूलाई विद्यालय जान प्रोत्साहनको लागि ‘छोरी पढाउ’ अभियान सञ्चालन गरी २३६ वटा साइकल वितरण गरिएको छ । पालिकामा चारवटा मात्रै माध्यमिक विद्यालय छन् ।

पालिकाले विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । अपाङ्गता भएकालाई पनि बेमौसमी खेतीको तालिमसँगै ब्रेनलिपिको विशेष कक्षा सञ्चालन गरिएको छ । किसानलाई सिँचाइका लागि खेतखेतमा विद्युत लगिदिएको छ । विपन्न सन्थालका ३७ परिवारलाई घर बनाइदिएको छ ।

गौरीगञ्जकी उपाध्यक्ष पनि महिला नै छन् । महिलालाई भरोसा गरे आफूहरूलाई जिताएकाले मिलेर काम गरेको अध्यक्ष राजवंशी बताउँछिन् । सबैको सहयोगमा काम गरिरहेको उनको भनाइ छ । महिलाले नेतृत्व गरेका पालिकामा संघ तथा प्रदेशले विशेष सहयोग गरुन् भन्ने आफ्नो चाहना रहेको उनी बताउँछिन् ।


-लोकान्तरबाट साभार गरी सम्पादन गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer