२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

विद्यालयले मोबाइल खोसेपछि विष खाएकी इक्साको उपचार खर्च अभाव


दमक, जेठ १६ । विद्यालयको दुर्व्यवहारका कारण विष खाएकी झापाको कमल गाउँपालिकाको मंगलमय माविकी एक छात्राको उपचार खर्च अभाव भएको छ ।

कमल–५ को मंगलमय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा इक्सा लिम्बूको मोबाइल विद्यालयले खोसेपछि बैशाख २० गते विष खाएकी थिइन् ।

विद्यालयले विभिन्न आरोप लगाउँदै अभिभावकलाई सुनाएपछि उनले विष सेवन गरेको परिवारको आरोप छ ।

इलामको माई नगरपालिका घर भएकी लिम्बूको आर्थिक अवस्था कमजोर भएपछि पाँच वर्षदेखि कमल–५ स्थित सानीआमा सन्ध्या जवेगूको घरमा बसेर पढ्दै आएकी थिइन् ।

बैशाख २० गते विद्यालयमा मोबाइल लिएर पुगेपछि मंगलमय माविले उनको मोबाइल खोसिदिएको थियो । त्यसपछि घर फर्किएलगत्तै विष सेवन गरेकी लिम्बूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

दमक अस्पतालले आफूले नसक्ने भन्दै लिम्बूलाई दमकस्थित लाइफलाइन अस्पताल रेफर गरेको थियो । लाइफलाइन अस्पतालबाट बिरामीका आफन्तले इक्सालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगेका थिए ।

त्यहाँ उनको दुई साताभन्दा लामो समयदेखि आइसियुमा राखेर उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको उनका सानोबुबा बालचन्द्र जवेगूले बताए ।

यद्यपि, उपचार रकम अस्पताललाई तिर्न नसकेपछि आइसियुबाट नर्मल बेडमा सार्न नसकिएको उनले बताए ।

दमकको लाइफलाइन अस्पतालमा एक लाख २० हजार बिल भएको जवेगूले बताए । सानीआमाको सुन धितो राखेर र चन्दा उठाएर त्यो पैसा तिरेको र थप उपचारका लागि नोबेल लगेको उनले झापा टुडेलाई बताए ।

नोबेलको फार्मेसी र अस्पतालमा गरेर पाँच लाखभन्दा धेरै बिल भएको उनको भनाइ छ । विद्यालयले उपचारमा सहयोग गर्ने आश्वासन दिएपछि कतै उजुरी तथा हल्लाखल्ला नगरेका इक्साका परिवार अहिले विद्यालयले सहयोग गर्न आनाकानी गरेपछि समस्यामा परेका छन् ।

यही विद्यालयमा गत चैत अन्तिम साता एक छात्रामाथि प्रधानाध्यापक मोहन बगालेले मरणसन्न हुने गरी कुटपिट गरेका थिए । शरीरमा नीलडाम हुने गरी कुटपिट गरेपछि उनलाई इलाका प्रहरी कार्यालय दमकले अभद्र व्यवहारमा मुद्दासमेत चलाएको थियो ।

बगाले रिहा भएपछि विद्यालय परिवारले मुद्दा जितेझैँ फूलमालाले स्वागतसमेत गरेको थियो । बगाले जिल्ला प्रशासन कार्यालय झापाबाट धरौटीमा रिहा भएको केही समयमा नै विद्यालय प्रशासनको दुर्व्यवहारले अर्की बालिका इक्साले विष सेवन गरेको घटना बाहिरिएको हो ।

मंगलमय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेलले अनुशासन कायम गर्न ती छात्राको मोबाइल खोसिएको स्वीकार गरे । इक्साले कक्षा ९ र १० मा पढ्ने विद्यार्थी भनाभन गरेको भिडियो खिचेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer