बिर्तामोड, जेठ १७ । झापाको शिवसताक्षी नगरपालिकाका एकजना वडा सचिवमाथि भौतिक आक्रमण भएको छ ।
वडा नम्बर १ का सचिव नन्दीकेशर भट्टराईमाथि आज वडाको क्यान्टिनमा कुटपिट भएको हो । सेवाग्राही स्थानीय सोमनाथ बजगाईं र उनका दाजु घनश्याम बजगाईंले भट्टराईलाई कुटेका हुन् ।
कुटपटिबाट घाइते भएका भट्टराईको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको टाउको, अनुहार, शरीरका विभिन्न भागमा मुक्का प्रहार भएको नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले भट्टराईमाथि आक्रमण गर्ने स्थानीय बजगाईं दाजुभाइलाई पक्राउ गरिएको बताए ।
त्यस्तै, पक्राउ परेका दुवैजनालाई झापा जिल्ला अदालतमा कारबाहीका लागि मुद्दा दर्ता गरेर थप अन्सन्धान गर्न इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ ।
जन्मदर्ता सच्याउनका लागि बजगाईं दाजुभाई वडा कार्यालयमा गएका थिए । आवेदकले नौ वर्षअगाडि बनाएको जन्मदर्तामा बाबुको थरबाट जन्मदर्ता बनेको थियो । उक्त जन्मदर्ता तत्कालीन धरमपुर गाविस सचिव पूर्ण शमशेर कुँवरले बनाइदिएका थिए ।
आवेदक बजगाईंले अहिले आफ्ना नानीको जन्मदर्तामा आमाको थर पनि समावेश गर्न माग गर्दे निवेदन गरेका थिए । बजगाईंकी श्रीमती कुइँकेल हुन् । जन्मदर्तामा कुइँकेल थर समावेशका लागि बजगाईंले वडा अध्यक्षसमक्ष निवेदन दिएका थिए ।
निवेदनमा वडा अध्यक्ष लक्ष्मी चेम्जोङले नियमानुसार जन्मदर्ता सच्याउन सचिव भट्टराईलाई तोक लगाएका थिए ।
वडा अध्यक्ष चेम्जोङले सच्याइदिनु भन्ने सचिवले नटेर्ने भन्दै बजगाईं दाजुभाइले सचिव भट्टराईमाथि मुक्का प्रहार गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
जन्मदर्ता भएको मितिले एक वर्षभित्र मात्र सच्याउन पाइने कानुनी प्रावधान छ । तर, ९ वर्षअघिको काजगपत्र सच्याउन यति बेला वडाले सर्जमिन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।