२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एसियन हाइवेः पुल र कल्भर्ट धमाधम बनिँदै


बिर्तामोड, जेठ १८ । एसियाली राजमार्गको रुपमा स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–केरखा खण्डमा १० वटा पुल र ६५ वटा कल्भर्टको निर्माण धमाधम भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकरभिट्टा–लौकही खण्डको ९५.७६ किलोमिटर सडकलाई पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा अलग अलग ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।

जसमध्ये पूर्वी खण्डको ४५ किलोमिटर सडकमा पुल, कल्भर्ट र माटो भर्ने कार्य धमाधम भइरहेको एभ्रास्कन–कालिका जेभीका कन्ट्रयाक्ट मेनेजर उज्ज्वल प्रसाईंले बताए । पूर्वी खण्डको पुल र सडक निर्माणको ठेक्का एभ्रास्कन–कालिका जेभीले लिएको छ ।

पूर्वी खण्डमा १८ वटा पुल र १४३ वटा बक्स कल्भर्ट निर्माण हुने भएको छ । हाल पाँच वटा पुलको पाइल फाउन्डेसनको कार्य सकिएको र अरु पाँचवटामा धमाधम भइरहेको कन्ट्रयाक्ट मेनेजर प्रसाईंले जानकारी दिए ।

चालु आर्थिक वर्षभित्रै पुलको पाइल फाउन्डेसन र कल्भर्टको दुई किनाराको फाउन्डेसन सक्ने कम्पनीको योजना रहेको छ । द्रुत गतिमा काम सम्पन्न गर्ने लक्ष्यका साथ हाल एकैचोटी ६५ वटा निर्माणस्थलमा बक्स कल्भर्टको दुई किनाराको फाउन्डेसन निर्माण भइरहेको उनको भनाइ छ ।

बर्खापछि राजमार्गको आवागमनलाई अवरोध नहुनेगरी दुई किनाराबाट सवारी ओहोरदोहोरको व्यवस्था मिलाएर हालको कालोपत्रे भाग भत्काएर नयाँ निर्माण थाल्ने निर्माण कम्पनीको योजना छ ।

बर्खाअघि नै कल्भर्टको दुई किनारा बनाइसक्ने र बर्खापछि उत्तर र दक्षिण किनाराबाट यातायातका साधन ओहोरदोहोर हुनसक्ने गरी अस्थायी सडक निर्माण गरिने उनले जानकारी दिए ।

दुईतर्फी किनारबाट यातायात सञ्चालन भइसकेपछि मात्र हाल राजमार्ग रहेको बीचको भाग भत्काएर नयाँ बनाइने भएको छ । त्यसो हुँदा राजमार्गमा निर्माणका कार्यका कारण यातायात अवरोधको सम्भावना हुँदैन ।

किनारबाट यातायात सञ्चालनका लागि सडक बनाउनका अहिले माटो भर्ने कार्य धमाधम भइरहेको छ । डेढ लाख घनमिटर माटो भर्ने कार्य सकिएको र त्यसलाई रोलर मेसिनले सम्याएर सडकको स्वरुप दिने कार्यलाई प्राथमिकता दिइएको छ ।

निर्माण कम्पनीले राजमार्ग स्तरोन्नतिको कार्य सुरु गर्नुअघि सडक क्षेत्रका सबै रुख काटेको छ । पूर्वी खण्डमा रुख काट्ने कार्य ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer