२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

तीन दिनभित्र सूचीकृत नभए बिर्तामोड-१ मा इन्टरनेटको तार काटिने


बिर्तामोड, जेठ २१ । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा सञ्चालनमा रहेका केवल नेटवर्क तथा इन्टरनेट कम्पनीको तार तीन दिनभित्र व्यवस्थित गर्न समय दिइएको छ ।

वडा कार्यालयमा भएको छलफलमा वडा नम्बर १ भित्र सञ्चालनमा रहेका इन्टरनेट तथा केवल नेटवर्क कम्पनीहरुलाई तीन दिनभित्र सूचीकृत हुन समय प्रदान गरिएको हो । अन्यथा वडाको रोहबरमा नेपाल टेलिकममार्फत तार काट्ने निर्णय गरिएको छ ।

अव्यवस्थित तारकै कारण अतिथि सदनलगायतका टोलका पोलमा आगो लागेर विभिन्न प्रकारका क्षति भएपछि वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले वडा कार्यालयमा छलफल राखेका थिए । छलफलमा विभिन्न इन्टरनेट कम्पनी तथा केवल नेटवर्क सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, गत जेठ १६ गते पञ्चकन्या, उन्नति र प्रगति टोलका पोलमा आगो लाग्दा नजिकका घरमा भएको क्षतिको विवरण संकलन गरी प्रतिवेदन तयार पार्ने र क्षतिपूर्तिको व्यवस्थाको लागि माग गर्ने निर्णय भएको छ ।

वडा नम्बर १ मा अव्यवस्थित रहेका टेलिफोनका तार, इन्टरनेट, डिसहोम लगायतका झुप्पा तार व्यवस्थापन गर्न आगामी मंसिरसम्मको समय प्रदान गरिएको जनाइएको छ । त्यसका लागि नेपाल विद्युत प्राधिकरणको केवल व्यवस्थापन सम्पन्धी नीतिबमोजिम गर्ने निर्णय भएको हो ।

छलफलले समस्या समाधानको लागि नेपाल टेलिकमका इन्जिनियर काजीमान विश्वकर्माको संयोजकत्वमा समिति समेत निर्माण गरिएको छ । जसको सदस्यमा कृष्ण कुइँकेल मेची स्पेसलिंक, कमल कार्की वल्र्ड लिंक, कौशल अधिकारी डिस होम र विजय अधिकारी सुबिसु रहेका छन् ।

छलफलमा वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, बिर्तामोड कार्यपालिका सदस्य यमुना आचार्य, वडा सदस्य योगचन्द्र आङबुहाङ, वडा सचिव टिका अधिकारी लगायत विभिन्न टोल विकास समितिका अध्यक्ष, सल्लाहकार, उद्योग वाणिज्य संघका प्रतिनिधि र केवल तथा इन्टरनेट कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer