२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

‘कानुन कार्यान्वयन नहुँदा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण’


बिर्तामोड, जेठ २१ । नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेको आक्रमण तथा असुरक्षाका सम्बन्धी कानुनको प्रचारप्रसार तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

आज झापाको बिर्तामोडमा भएको कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनका बारेमा बृहत छलफल गरिएको हो ।

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको आयोजनामा भएको छलफलमा अधिकांश वक्ताहरुले चिकित्सक र बिरामीहरु त्रासदिको घेरामा रहनुको कारण कानुन कार्यान्वयनमा आउन नसकेर भएको बताए ।

बिरामीको मृत्यु भइहालेमा आक्रमण गर्ने तथा हुलदंगा गर्ने ‘स्वार्थ समूहहरु’ रहेको र पैसाका लागि उनीहरु ठेक्का नै लिए र परिचालित हुने गरेको सहभागीहरुको भनाइ रहेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश बिष्टले बिर्तामोडमा पनि त्यस्ता समूहहरु सक्रिय रहेको पाइएकोले तिनीहरु पहिचान गर्ने कार्य भइरहेको बताए ।

मानवअधिकार सञ्जाल झापाका अध्यक्ष डक्टर रुपक खनालले राजनीतिक दलको संरक्षणमा रहने समूहहरुले नै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने गरेको जिकिर गरे ।

डक्टर लक्ष्मीप्रसाद मैनालीले ऐनमा भएको व्याख्या नै त्रुटिपूर्ण रहेको बताए । सजायको दफामा ‘वा’ भन्ने शब्द हटाएर ‘र’ राख्नुपर्नेमा उनको जोड थियो ।

संघका मेची शाखा अध्यक्ष डक्टर सिपी यादवले नेताहरुले कमिसन खाएर अस्पताल र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणकारीलाई उकास्ने गरेको आरोप लगाए । असुरक्षाकै कारण दक्ष चिकित्सकहरु विदेसिने गरेको बताए । यादवले कानुन संशोधन गरेर मात्र नपुग्ने त्यस्का लागि मानसिक रुपमै सुध्रिन जरुरी रहेको बताए ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले राजनीतिक दलको संरक्षणमा केही अराजक समूह आक्रमणमा उत्रिने गरेको स्वीकार गरे । उनले बौद्धिक व्यक्ति राजनीतिमा नआउन्जेल देशको अवस्था नसुध्रिने जिकिर गरे ।

संघका अध्यक्ष डक्टर अनिलविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोक बस्नेतले चिकित्सकहरु सबैले विश्वास र भरोसा गरेका भगवानका रुपमा रहेको बताए । केही त्यस्ता घटनाहरुले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणले त्रासदि फैल्याएको बताए ।

संघका महासचिव डक्टर सञ्जीव तिवारीको सञ्चालन गरेको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक डक्टर दिपेश आचार्यले गरेका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष डक्टर बद्री रिजालले धन्यवाद व्यक्त गरेका थिए । अन्तरक्रियामा ४२ जना को सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer