२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नौ हजार परिवारलाई पानी खुवाउँदै बिर्तामोड खानेपानी


बिर्तामोड, जेठ २१ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नौ हजारभन्दा बढी घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ ।

संस्थाले बिर्तामोडको १० वटै वडा र अर्जुनधारा–५, ६ र ११ का केही स्थानका गरी नौ हजार दुई सय घरपरिवारलाई शुद्ध खानेपानी वितरण गर्दै आएको संस्थाका अध्यक्ष मेघराज बास्तोलाले जानकारी दिए ।

संस्थाले तीनवटा ओभरहेड ट्यांकी, १६ वटा डिप बोरिङ र ११ वटा फिल्टर प्लान्टबाट दैनिक करिब दुई करोड १२ लाख लिटर पानी उत्पादन गरी चौबीसै घण्टा वितरण गर्दै आएको छ ।

पानीको माग बढ्दो

बिर्तामोड खानेपानीमा हाल दैनिक ३०/३५ जना उपभोक्ता धारा जडानका लागि माग गर्न आउने गरेका छन् । बिर्तामोड–३ स्थित सैनिक बजारमा पानीको माग बढेपछि हालै एउटा फिल्टरसहित डिप बोरिङ जडान गरिएको छ ।

“झन्डै एक करोड रुपैयाँको लागतमा फिल्टरसहितको डिप बोरिङ गरिएको छ”, संस्थाका सचिव पारस मैनालीले भने, “उपभोक्ताको माग बढेपछि डिप बोरिङ गाडेका हौँ ।” सो क्षेत्रमा हाल ४५० उपभोक्ता छन् भने डिप बोरिङ सञ्चालनमा आएपछि नौ सयदेखि एक हजार घरपरिवारलाई खानेपानी वितरण गर्न सकिने संस्थाले जनाएको छ ।

संस्थाले चालु आर्थिक वर्षमा अर्जुनधारा–११ र अर्जुनधारा–६ मा फिल्टरसहितको डिप बोरिङ जडान गरेको छ । जग्गा व्यवस्थापनसमेत गरेर दुई करोड ५० लाख रुपैयाँ खर्च भएको सचिव मैनालीले बताए ।

सडक निर्माणले समस्या

सडक निर्माणका क्रममा पाइपलाइनमा क्षति पुग्दा समस्या हुने सचिव मैनाली बताउँछन् । “सडक, ढल बनाउँदा पाइप फुटेर हैरान हुन्छ”, उनले भने, “सडक बनाउने बेलामा हामीलाई कुनै जानकारी दिइँदैन, पाइप फुटिसकेपछि फोन आउँछ ।” खानेपानी जस्तो आधारभूत कुरालाई सरोकारावाला निकायले नजरअन्दाज गर्नु विडम्बना भएको उनले बताए ।

सडक निर्माणका क्रममा क्षति भएको पाइपलाइन मर्मतका लागि सडक निर्माणको ठेक्का लिने र दिने दुवैले चासो नदिँदा समस्या हुने गरेको छ । एउटा सडकमा चारपटकसम्म पाइप विछ्याउनुपर्ने बाध्यता रहेको सचिव मैनाली सुनाउँछन् ।

“उपभोक्तालाई पानी नदिँदा समस्या हुन्छ, मर्मत गर्न आर्थिक समस्या हुन्छ”, उनले भने, “सडक निर्माण गर्दा अन्य सरोकारवालालाई जानकारी र बजेट छुट्याए जसरी खानेपानीलाई पनि बजेट र महत्व दिनुपर्छ ।”

आफ्नै स्रोतले सेवा दिँदै

आफ्नै सीमित स्रोत, साधन र बजेटको परिधिमा रहेर आमउपभोक्तालाई शुद्ध खानेपानी वितरण गरिँदै आएको संस्थाका अध्यक्ष मेघराज बाँस्तोला बताउँछन् । “उपभोक्ताको चाहनाअनुसार सकेसम्म न्यायोजित ढंगले पानी उपलब्ध गराउँदै आएका छौँ”, उनले भने, “पानीको माग अत्यधिक बढेको छ, क्षमताले भ्याएसम्म काम गरिरहेका छौँ ।”

बिर्तामोडमा सहरीकरणसँगै जनघनत्व बढ्दै गएकाले पानीको माग पनि दिनदिनै बढ्दै गएको छ । तर, खानेपानी संस्थाको क्षमता बृद्धिका लागि सरोकारवाला निकायबाट सहयोग मिल्न सकेको छैन । पाइपलाइन विस्तारमा मात्र सहयोग गरे खानेपानीको पहुँच अभिबृद्धि हुने संस्थाका व्यवस्थापक खड्ग गिरीले बताए ।

नगर विकास कोषले मुलुककै उत्कृष्ट खानेपानी संस्थाका रुपमा सन् २०१८ र सन् २०२२ मा पुरस्कृत गरेको बिर्तामोड खानेपानीको ऋण ८५ लाख रुपैयाँ रहेको छ । उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन एडिबीबाट लिएको ऋणमध्ये उक्त रकम तिर्न बाँकी रहेको संस्थाले जनाएको छ ।

प्रविधिमैत्री बन्दै

संस्थामा वेभ मा आधारित भौगोलिक सूचना तथा सम्पत्ति व्यवस्थापन र सुपरीवेक्षण प्रणाली (जिआइएस) लागु भएको व्यवस्थापक गिरीले बताए ।

दियालो टेक्नोलोजीले निर्माण गरेको यो प्रणाली जिआइएस प्रणालीमार्फत मिटर रिडिङका लागि एन्ड्रोइड मोबाइल एप्लिकेसन मिटरमार्क, बिलिङ व्यवस्थापन, सूचना र सञ्चारको लागि एसएमएस प्रणाली, अनलाइन प्रणालीबाट खानेपानीको महसुल भुक्तानी, वित्तीय लेखा, जिन्सी व्यवस्थापन, ग्राहक सेवा व्यवस्थापन, ग्राहकका लागि स्वमिटर रिटिङ लगायतका सेवा अनलाइनमार्फत हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer