२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

विश्वकपमा आज नेपालले नेदरल्यान्डससँग खेल्दै


बिर्तामोड, जेठ २२ । जारी टि–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । समुह डि मा रहेको नेपालले आज नेदरल्यान्डसको सामना गर्दैछ । डल्लासस्थित ग्रान्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९ः १५ बजेदेखि सुरु हुनेछ ।

आइसिसीको टि–२० वरियतामा नेपाल १७ औँ स्थानमा छ भने नेदरल्यान्डस १५ औँ स्थानमा रहेको छ । नेपाल र नेदरल्यान्डसबीच अहिलेसम्म १२ टि–२० खेल भएका छन् । जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै, एक खेलको नतिजा आएको थिएन ।

नेपालको विश्वकप यात्रा

नेपालले भने १० वर्षपछि टि–२० विश्वकपमा कमब्याक गरेको छ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।

नेपाली टिम

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टि–२० विश्वकपमा नेपाल समुह डि मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल डल्लासमा जुन ४ मा नेदरल्यान्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer