२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड बसपार्क सरकारी नभएको निष्कर्ष


बिर्तामोड , जेठ २४ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको बताइएको छ ।

अर्जुनधारा नगरमा भएको छलफलले त्यस्तो निष्कर्ष निकालेको छ । कानुन व्यवसायी, सरोकारवाला, स्थानीय र सञ्चारकर्मीबीच भएको अन्तरक्रियाले बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको निचोड निकालेको हो ।

करिब एक महिनाअघि गिरीबन्धु टी इस्टेटभित्र उक्त जग्गा रहेको भनी कानुनले व्याख्या गरेर वडा नम्बर ११ को (५१ बिघा जमिन) नयाँ बसपार्कका बासिन्दाहरुलाई त्रसित बनाइरहेको बेला त्यही विषयमा केही युट्युबर र मिडियाले समाचार लेखेपछि अर्जुनधारा नगरपालिकामा छलफलको आयोजना गरिएको थियो ।

छलफल कार्यक्रममा बसपार्क समन्वय समितिका अध्यक्ष सुजन शिवाकोटीले तथ्य कुरा अर्कै भए पनि केही मिडियाहरुले बसपार्कबासीहरुलाई आतंकित बनाइदिएको भन्दै समाधानको बाटोमा जान नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख खड्गमाया पराजुलीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

बसपार्क समन्वय समितिका सहसचिव शिव पौडेलले ११४३ कित्ताभित्र चार सयभन्दा बढी घर बनिसकेको र केही व्यावसायिक कर्जा र शैक्षिक कर्जा लिएर प्रगति गर्ने बेलामा गिरीबन्धु टि इस्टेटको जग्गाको विषयमा बसपार्कलाई जोडेर गरेको हल्लाले बसपार्कबासीहरुलाई मर्कामा पारेको उल्लेख छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता टंक उप्रेतीले अदालतले जारी गरेको निर्णय पत्रमा बसपार्कलाई छोएको पाइँदैन तथापि यथार्थमा पुग्न नगरले सम्बन्धित निकाय र यसै क्षेत्रका सांसद तथा सभामुख देवराज घिमिरेमार्फत प्रस्ट्याउन आवश्यक भएको बताए ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सभामुख घिमिरेका स्वकीय सचिव केशव ढुंगेललगायतले उक्त विषयमा आआफ्ना धारणा राखेका थिए ।

नगरप्रमुख गोम्देनले मालपोत कार्यालय झापाका प्रमुख शेरबहादुर भण्डारीसँग फोन सम्पर्क गर्दा प्रमुख भण्डारीले सहजताका लागि आफू तयार रहेको बताएको नगरप्रमुखले जानकारी दिएका थिए ।

कार्यक्रममा उपप्रमुख पराजुली, अर्जुनधारा-११ का वडा अध्यक्ष खगेन्द्र इङनामसहित सरोकारवालाहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer