२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका ५० प्रतिशतभन्दा बढी सिनेमा हल बन्द


हाल बन्द रहेको बिर्तामोडको कृष्णा चित्र मन्दिर ।

बिर्तामोड, जेठ २५ । कोभिड, त्योभन्दा अघि र त्यसपछि विभिन्न कारणले हालसम्म झापाका ११ वटा सिनेमा हल बन्द भएको पाइएको छ ।

नेपाल चलचित्र संघका पूर्वअध्यक्ष राजकुमार पोखरेलका अनुसार अहिले झापाका विभिन्न सहरमा १० वटा सिनेमा हल सञ्चालनमा छन् । झापाको इटाभट्टामा एक, बितामोडमा चार, राजगढमा एक र दमकमा चारवटा सिनेमा हल सञ्चालनमा छन् ।

झापामा २१ वटा सिनेमा हल रहेको तथ्याङ्कले देखाउँछ । व्यवसायको अभावले ती हल बन्द भएको पोखरेलको भनाइ छ । हलको संख्या यसरी घट्नु भनेको चिन्ताको विषय रहेको उनले बताए ।

मनोरञ्जनका अरु नै साधनहरु आउनु, टिभीमा मनोरञ्जनका कार्यक्रम थप हुनु, दर्शकको मल्टिप्लेक्स मोह हुनु, हल बन्द हुनुको मुख्य कारण रहेको बिर्तामोडको कृष्णा चित्र मन्दिरका सञ्चालक समेत रहेका पोखरेलले बताए ।

कोरोना महामारी, देशको राजनीतिक अस्थिरता, टिकटमा भारी कर, फिल्मको व्यवसाय लगायत धेरै कारणले सिनेमा हल बन्द भएका छन् । पोखरेलको कृष्णा चित्र मन्दिर समेत बन्द भइसकेको छ ।

हलको संख्या घट्नुले फिल्मको व्यवसायमा मात्र प्रभाव पारेको छैन, त्यसमा प्रत्यक्ष रुपमा आश्रित डेढ सय जना बेरोजगार भएका छन् ।

एक हल सञ्चालनका लागि काउन्टर, टिकट चेकिङ, प्रोजेक्सन लगायत विभिन्न विधामा गरी १५ कर्मचारी लाग्ने संघका पूर्वअध्यक्ष पोखरेल बताउँछन् ।

हल सञ्चालन गर्ने मलको भाडा, बैंकको ब्याज, स्टाफलगायत खर्च धान्न फिल्मको व्यवसायबाट हुने आम्दानीले नपुग्ने कारण पनि कतिपय हल बन्द भएको उनले सुनाए ।

‘राज्यले उद्योगकै हैसियतमा बिजुली, बैंकको ब्याज, टिकटमा लगाइने विभिन्न करमा छुट लगायत विभिन्न सुविधा चलचित्र क्षेत्रलाई दियो भने अहिलेको समस्या समाधान हुन्छ’, पोखरेलले भने, ‘नत्र भने एकएक गरेर हल बन्द हुन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer