२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गिरीबन्धु टि स्टेट निजी सम्पत्ति भएको सञ्चालक छत्र गिरीको दाबी


बिर्तामोड, जेठ ३० । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट निजी सम्पत्ति भएको बताएका छन् ।

बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले सर्वोच्च अदालतबाट आदेश भएपछि गिरीबन्धुको नाममा चौतर्फी प्रयोग भएको भाष्यप्रति आपत्ति जनाएका थिए ।

उनले पत्रकारहरूसामु गिरीबन्धु टि स्टेट आफ्ना बाबुबाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको बताए । उनले भने, ‘जहाँ पनि गिरीबन्धुको चर्चा चल्न थालेपछि मानिसहरूमा यो राज्यको सम्पत्ति हो कि भन्ने परेको छ । तर म तपाईंहरूमार्फत सबैमा भन्न चाहन्छु, यो राज्यको सम्पत्ति होइन ।’

गिरीले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गरे । २०२१ सालमा भूमिसम्बन्धी ऐन लागु हुनुअघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको उनको भनाइ छ ।

हदबन्दी छुटमा ५ सय बिघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको गिरीले जानकारी दिए ।

सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको गिरीले बताए । एकैपटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार सुरु गरेको उनले स्वीकार गरेका छन् ।

दिपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनको स्वीकारोक्ति छ ।

उनले भने, ‘जग्गा सट्टापट्टाका लागि धेरै जग्गा किन्नुपर्ने भएकाले आर्थिक कारोबार नगरी उपाय छैन । त्यसैका लागि हामीले उहाँहरूसँग कारोबार गरेका हौँ । उहाँहरूले पनि इच्छा जाहेर गरेर हो ।’

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदमा जग्गा सट्टापट्टाको फाइल पुगेको र त्यसको निकासका लागि मन्त्रिपरिषदले निर्णय गरेको गिरीको भनाइ छ । उनले भने, ‘त्यो निर्णय जोकोही प्रधानमन्त्री भएको भए पनि हुन्थ्यो ।’

हाल चिया बगान वार्षिक करोडौँ रुपैयाँ घाटामा गएका बेला सरकारले निकास नदिने हो भने क्षतिपूर्ति दिएर उक्त जग्गा राज्यले लैजान गिरीले चुनौतीसमेत दिए ।

उनले भने, ‘बिर्तामोडमा कि चिया बगान हुन्छ कि सहर हुन्छ । दुवै चाहिँ सम्भव छैन । होइन चिया बगान नै चाहिन्छ भन्ने हो भने सहर सार्नुपर्छ । नत्र सहरको भीडमा चिया बगान सम्भव छैन ।’

चिया बगानमा प्रयोग हुने विभिन्न प्रकारका विषादी तथा मलखादका कारण मानिसको स्वास्थ्यमा गम्भीर समस्या निम्तिने भएर पनि सहरमा चिया बगान सम्भव नभएको गिरीले बताए ।

त्यस्तै, बगानमा अपराधजन्य क्रियाकलापहरु हत्या, बलत्कार, लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको गिरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer