२०८२ कात्तिक २७ बिहीबार
Jhapa Today
Adv top

झापामा राष्ट्रिय परिचयपत्र विवरण संकलन दुई चरणमा


बिर्तामोड, जेठ ३२। झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राही बढेपछि दैनिक दुई चरणमा विवरण सङ्कलनको काम गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ ।

कर्मचारीलाई बिहान र दिउँसो गरी दुई चरणमा काममा खटाई राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण थालेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । उनका अनुसार दैनिक तीन सयदेखि चार सयजनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

“दैनिक एक सयको हाराहारीमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम भइरहेको छ । बिहान ७ बजेदेखि नै टोकन वितरण गर्छौँ, सेवा प्रवाहमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई प्राथमीकतामा राखेका छौँ”, बाँस्तोलाले भने ।

यसअघि जिल्ला प्रशासन कार्यालयले वडास्तरमा अभियानकै रुपमा बुद्धशान्ति गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, भद्रपुर नगरपालिका र अर्जुनधारा नगरपालिकामा ७३ हजार सात सय ८१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको छ । अहिले मेचीनगर नगरपालिकामा वडास्तरमै अभियानको रुपमा राष्ट्रिय परिचयपत्र वितरण भइरहेको बाँस्तोलाले बताए ।

राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी रहेका स्थानीय तहमा वितरण गर्ने तयारी भइरहेको जिल्ला प्रशासान कार्यालयले जनाएको छ । स्थानीय तहमा वितरण गर्दा फिर्ता आएका परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट वितरण भइरहेको छ ।

आगामी आर्थिक वर्ष २०८१/ ८२ देखि सामाजिक सुरक्षालगायत विभिन्न सरकारी सुविधा प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि देशभरका जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ ।

Adv footer