बिर्तामोड, असार १ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले विद्यार्थीहरुलाई विपद व्यवस्थापन प्रतिकार्य सम्बन्धी अभ्याससँगै सर्पदंश सम्बन्धी जानकारी दिन थालेको छ ।
यस क्रममा कनकाई-३ सुरुङ्गास्थित पशुपति इङलिस सेकेन्डरी स्कुलका विद्यार्थीहरुलाई अभ्यास गराइएको हो । मनसुन सुरुवातसँगै विपदबाट जोगिन सचेतनासहित अभ्यास गराइएको गणले जनाएको छ ।
विद्यालयसँग समन्वय गरी बिहान ११ बजेबाट विपद व्यवस्थापन प्रतिकार्य सम्बन्धी कक्षा तथा डेमोस्ट्रेसन प्रदर्शन गरिनुका साथै सर्पदंशसम्बन्धी कक्षाहरु दिउँसो ३.३० बजेसम्म संचालन गरिएको थियो ।
कार्यक्रममा शिक्षक, स्काउट तथा विद्यार्थीहरु गरी करिब ३०० जनाको उपस्थिति रहेको गणले जानकारी गराएको छ ।