दमक, असार ६ । दमकको रतुवा खोलाले बगाएर झापामा एकजनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ८ बजेको समयमा दमक नगरपालिका वडा नम्बर ७ स्थित रतुवा पुलछेउमा तत्काल नाम थर वतन नखुलेको एक व्यक्तिको शव फेला परेको हो ।
रतुवा खोलाले बगाएर ल्याइरहेको अवस्थामा स्थानीयले देखेर तत्काल खोलाबाट बाहिर किनारमा निकाली हेर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकमा खबर प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि टोली खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार निज मृतक दमक १ सरस्वती टोल बस्ने ५३ वर्षीय मोहन रामदाम (विक) रहेको सनाखत भएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको र विकका आफन्त घटनास्थलमा आइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।