२०८१ असार १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोशीको पुरुष हक्की टिममा एउटै वडाका खेलाडी, छैनन् प्रशिक्षक र बजेट


बिर्तामोड, असार १० । कोशी प्रदेशका जिल्लाहरुमा हक्कीको प्रशिक्षक तथा बजेट शून्य हुँदा सिंगो प्रदेशको टिम एउटै वडाका खेलाडीले धानिरहेका छन् ।

विगत पाँच वर्षयता कोशी प्रदेशको पुरुष तथा महिला हक्की टिमका ९० प्रतिशत खेलाडी झापा भद्रपुरको एउटै टोलका छन् ।

२०७९ असोजमा भएको नवौँ राष्ट्रिय खेलकुदमा तत्कालीन प्रदेश १ को हक्की टिमको प्रतिनिधित्व गर्ने सिंगो टोलीका अघिकांश खेलाडी एउटै वडाका थिए ।

आजदेखि पोखरामा सुरु हुने पाँचौँ गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सहभागी हुन कोशी प्रदेश टिमको बिर्तामोडमा विदाइ गरियो । त्यहाँ खेल्ने पुरुष टोलीका सबै खेलाडी भद्रपुर वडा नम्बर ९ का हुन् ।

केही तीन वर्षअघि सम्म हक्कीका प्रशिक्षक रहेका ज्ञानेन्द्र खड्का बस्ने ठाउँ भद्रपुर ९ भएकाले खेलाडीहरु पनि सोही वडाका मात्र भएका हुन् ।

छैनन् प्रशिक्षक र बजेट

कोशी प्रदेशको पुरुष तथा महिला हक्की टिमले नवौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरे पनि १० औँ खेलकुदको तयारीको संघारमा प्रदेश खेलकुद विकास बोर्डले प्रशिक्षक नियुक्त गर्न सकेको छैन ।

हक्की संघको प्रदेश समिति भए पनि नाम मात्रैको रहेको छ । सबै खेलाडी झापाको भद्रपुरको पुँहातुबारी टोलका रहेका कारण बोर्डले झापा जिल्ला हक्की संघलाई प्राथमिकतामा राख्नुपर्नेमा त्यसो हुन सकेको छैन ।

बोर्डबाट हक्की संघलाई प्राप्त हुने सुविधा तथा खर्च पनि प्रदेश संघले नै लिने गरिएकाले खेलाडीले पाउन नसकेको बताइएको छ ।

सिंगो टिम नै झापा भएकाले बोर्डले झापा संघलाई प्रत्यक्ष लगानी गरेर १० औँ राष्ट्रिय खेलकुदको तयारी गर्नुपर्ने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी बताउँछन् ।

प्रशिक्षक अभावसँगै हक्की खेलका खेल सामग्री खर्चिलो हुने र खेलाडीले धान्न नसक्ने भएकाले पनि हक्कीका केही खेलाडी पलायन भइरहेका छन् ।

हाल कोशीका खेलाडी दिपक खतिवडाले नै प्रशिक्षकको भूमिका निभाउँदै आएको संघका झापा अध्यक्ष मनोज बुढाथोकीले बताए ।

बुढाथोकी संघको नेतृत्वमा आएपछि व्यक्तिगत तथा निजी प्रायोजन खोजेर झापामा प्रशिक्षण तथा अभ्यासका कामहरु हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer