मेचीनगर, असार ११ । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा-७ मा अध्ययनरत विद्यार्थीहरुलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ ।
सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले जानकारी दिए ।
उनका अनुसार एक महिनाभित्र उनले समितिमा लिखित स्पष्टीकरण दिनु पर्नेछ । स्पष्टीकरण चित्तबुझ्दो नभए निष्कासन गरिने तिवारीले बताए ।
विद्यालयले भण्डारीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेपछि हिजो बिहान आन्दोलित अभिभावकहरू साम्य भएका थिए ।
हिजो बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा सर्वपक्षीय छलफल भएको थियो । छलफलमा उनले माफी माग्दै घाइते विद्यार्थीहरुको उपचार गरिदिने सहमति जनाएका थिए ।
विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो ।
आइतबार उनले कक्षा ७ का विद्यार्थीहरूलाई रबरको पाइपले पिटेका थिए । विद्यार्थीहरूको शरीरमा नीलडाम बसेको छ । एकजना विद्यार्थी अस्पताल भर्ना भएका थिए ।