बिर्तामोड, असार ११ । झापाको गौरीगञ्जमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् ।
गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जीबारीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–१ का ३० वर्षीय उद्धव भट्टराई र दमक नगरपालिका–५ का २६ वर्षीय इन्द्रप्रसाद तिम्सिनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई शंका लागेर जाँच गर्दा उद्धवले लगाएको जुत्ताभित्र लुकाई छिपाई राखेको ब्राउन सुगर ६ ग्राम ७३० मिलिग्राम भेटिएको थियो । दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।