२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइ नतिजा आज बिहान १० बजे प्रकाशन हुँदै, नयाँ लेटर ग्रेडिङले धेरै विद्यार्थी अनुत्तीर्ण हुने डर


बिर्तामोड, असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा आज बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ ।

हिजो नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेकाले आज नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार आज बिहान ७ बजे फेरि बोर्ड बैठक बस्दैछ, त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।१० बजेसम्म नतिजा प्रकाशन गर्ने तयारी बोर्डको रहेको छ ।

चैत १५ गतेदेखि २७ गतेसम्म भएको एसइइ परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिनेछ । तर, विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै, कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer