२०८१ असार १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अरिदमन गणद्वारा झापामा नेपाली सेनाको एनसिसी तालिम सुरु


झापा, असार १३ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ ।

जिल्लाका सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालयमा उक्त तालिम सञ्चालन सुरु गरिएको हो । बिहीवार एकै दिन विद्यालय हातामा पुगेर ती विद्यालयमा अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले तालिमको उद्घाटन गरेका छन् ।

पहिलोपटक ५० ब्याच जुनियरतर्फको एनसिसी तालिम सुरु भएको हो । उद्घाटन भएका विद्यालयमा असार १४ देखि तालिम सुरु हुने नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका सेनानी नरेन्द्रप्रसाद खतिवडाले जानकारी दिए ।

सिनियरतर्फको तालिम साउन १ गतेलाई तोकिएको छ । तोकिएको कार्यक्रम फेरबदल पनि हुन सक्ने गणले जनाएको छ ।

गणले जुनियर डिभिजन तालिमका लागि जिल्लाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले माध्यमिक विद्यालयलाई छनोट गरेको छ । झापामा सामुदायिक विद्यालयमध्ये जुनियर तालिम सञ्चालन हुने झिलझिले मावि झापाको एक मात्र सामुदायिक विद्यालय हो ।

संस्थागततर्फ इस्ट होराइजन मावि मेचीनगर, इस्ट पोइन्ट स्कुल भद्रपुर, टावर टेम्पल स्कुल बिर्तामोड र इन्स्पाइर बोर्डिङ स्कुल दमक चयन भएका छन् ।

सिनियर डिभिजनको तालिमका लागि धुलाबारी मावि मेचीनगर, जनता मावि अर्जुनधारा र झापा मोडल दमक चयन भएका छन् ।

एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’ का रूपमा मोरङको याङशिलास्थित राष्ट्रिय सेवा दलको पूर्वी तालिम शिक्षालयमा हुने अरिदमन गणका गणपति बस्न्यातले बताए ।

तालिमबाट विद्यार्थीहरु राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारी र बफादारीका बारेमा प्रशिक्षित हुने उनले बताए ।

“यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ”, उनले भने । उनका अनुसार विपद व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइन्छ ।

झापामा यो वर्ष १८० विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइने गणले जनाएको छ । एउटा विद्यालयबाट छात्र १८ र छात्रा १८ गरी ३६ जना तालिममा सहभागी हुन पाउने छन् ।

जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्म तथा सिनियर डिभिजनका लागि कक्षा ११ र १२ का विद्यार्थी सहभागी गराइने उनले जानकारी दिएका छन् ।

तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । यसअघि जिल्लाका एक छात्र र एक छात्राले अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाएका थिए ।

नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम विसं २०२२ कात्तिक ७ गतेबाट सुरु गरेको थियो ।

राष्ट्रिय सेवा दलको तालिमबाट मुलुकभरबाट ६१ हजार ९६५ जुनियर डिभिजन र १२ हजार ५१५ सिनियर डिभिजन गरी कुल ७४ हजार ४८० जना प्रशिक्षित भएका छन् ।

नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यससम्बन्धी तालिम विस्तार गर्दै वार्षिक ७ हजार ७०० विद्यार्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ । सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer