२०८१ असार १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सीमान्तकृत सन्थाल समुदायबाट झापाका सोरेन एसइइमा हालसम्मकै उत्कृष्ट


  • हिमाल खरेल

बिर्तामोड, असार १४ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापाका एक विद्यार्थीले सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् ।

झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविमा छात्र टेकनाथ सोरेन सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/ एसइइकै इतिहासमा उच्च अंक ल्याउने विद्यार्थी हुन् ।

२०६४ साउन ३० गते जन्मिएका सोरेनले २०८० को एसइइमा ३.८२ जिपिए अंक ल्याएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिए । सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५.५ प्रतिशत हुन्छ ।

टेकनाथ विद्यालयका अनुशासित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी भएको कटुवालले बताए । आफ्नो परिश्रम र विद्यालयको निगरानीले प्रतिफल आएको सोरेनको भनाइ छ ।

बाह्रदशी-६ डाँगीबारीका टेकनाथका बुवा राजिन्दर र आमा उषा सामान्य खेती र अर्काको दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।

झापा, मोरङ र सुनसरीमा बसोबास रहँदै आएको सन्थाल समुदायको २०७८ को जनगणनाअनुसार ५७ हजार ३१० जनसंख्या रहेको छ ।

छात्रातर्फ हस्दा उत्कृष्ट

यसैबीच, सन्थाल समुदायबाट छात्रातर्फ एसइइ इतिहासकै उच्च अंक गौरीगञ्जकी पर्वती हस्दाले ल्याएकी छन् । खजुरगाछी माविकी हस्दाले सबैभन्दा उत्कृष्ट अंक ल्याएकी हुन् । उनले यस वर्षको एसइइमा ३.५१ जिपिए ल्याएकी छन् ।

उनी २०८० को एसइइमा गौरीगञ्जको सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट अंक ल्याउन ल्याउने विद्यार्थी पनि भएकी छन् । गौरीगञ्ज गाउँपालिकाभित्रका चारवटा सामुदायिक विद्यालय एसइइमा सहभागी थिए ।

समाजमा सन्थाल

कानुनमा स्नातक झापा गाउँपालिकाका सन्थाल समुदायका विश्वदीप बेस्रा उपसचिव छन् भने नारायण टुडू कृषि सामग्री संस्थानका अधिकृत छन् ।

त्यस्तै, जिसु मुर्मू र उनकी श्रीमती सुनिता सोरेन वडा सचिव छन् । सन्थाल समुदायबाट सरकारी निकायमा काम गर्ने थोरै मात्रै छन् ।

सीमान्तकृत सन्थाल समुदायबाट जोबा सोरेन र मोहन टुडू सांसद बनेका थिए । स्थानीय तहको निर्वाचन २०७९ मा सन्थाल समुदायबाट मोरङको जहदा गाउँपालिकाको उपाध्यक्षमा हन्ना सोरन छिन् ।

सोही गाउँपालिकामा मुन्सी मुर्मू र भगवान टुडूले वडा अध्यक्ष जितेका छन् भने जितन हस्दा र शिवनारायण मुर्मू वडा सदस्य छन् । झापा र मोरङमा केही वडा सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer