२०८१ असार १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका व्यवसायी र नगरप्रमुखबीच ‘मेयरसँग व्यवसायी’ विषयक अन्तरक्रिया


बिर्तामोड, असार १६ । बिर्तामोडका व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नुपर्ने आवाज उठाएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले व्यवसायीको संरक्षण गर्नुपर्ने र व्यवसायीहरुको हितमा कार्यक्रम ल्याउनुपर्ने माग समेत गरे ।

राज्यलाई सबैभन्दा धरै कर व्यवसायीले तिर्ने गरेको तर व्यवसायीको हितमा स्थानीय सरकारले कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरुले दुखेसो पोखे ।

कार्यक्रममा बोल्दै अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषिजन्य वस्तुमा संघीय सरकारले छुट दिए पनि स्थानीय सरकारले कृषिजन्य वस्तु निर्यातमा कर लिएको र त्यसलाई हटाइनुपर्ने माग राखे ।

महिला उद्यमी पार्वता खरेल बिमलीले बिर्तामोडलाई प्लास्टिकमुक्त बनाइनुपर्ने र महिला व्यवसायीलाई स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानुपर्ने धारणा राखिन् ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले व्यवसायीको संरक्षण गर्दै उनीहरुको सुरक्षाका लागि सडक किनारमा सडक बत्ती जडान गर्नुपर्ने बताए ।

त्यस्तै, अग्रसेन भवन बिर्तामोडका अध्यक्ष मोहन मित्तलले करका क्षेत्रमा नगरपालिका लचिलो बन्नुपर्ने र सबै व्यवसायीलाई करको दायरमा ल्याउनुपर्ने बताए । कर तिर्ने व्यवसायीलाई स्थानीय सरकारले सम्मानजनक व्यवहार गर्नुपर्ने उनको धारणा थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उनले अनलाइन व्यापारलाई करको दायरामा ल्याउनुपर्ने लगायतका माग राखेका थिए ।

बिर्तामोड नगरपालिकाले व्यवसायीको हित हुने कार्यक्रम ल्याउन नगरप्रमुखलाई अनुरोध गर्दै उनले संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू प्रतिबद्ध रहको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै व्यवसायीहरुका उचित मागलाई सम्बोधन गर्ने बताएकी थिइन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार थापा, बलराम कार्की, व्यवसायी गणेश पौडेल, ओमकृष्ण बिमलीलगायतले आआफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer