२०८१ असार १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

आजदेखि चार दिन भारी वर्षाको सम्भावना, झापा ‘उच्च जोखिम’ मा


भारी वर्षा हुने सम्भावना रहेका जिल्लाहरुमा रातो संकेत गरिएको छ । गाढा पहेँलोले मध्यम जोखिम र हल्का पहेँलोले निम्न जोखिमको संकेत गरेको छ । स्रोत : जल तथा मौसम विज्ञान विभाग ।

बिर्तामोड, असार १७ । मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ ।

मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुनेछन् । विभागले विशेष बुलेटिन जारी गर्दै झापासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् । अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् ।

विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको विभागको भनाइ छ । यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो ।

सो न्यून चापिय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले फेरि असार १७ गतेदेखि २० गतेसम्म सतर्कताको सूचना जारी गरेको हो ।

विभागका मौसमविदहरुका अनुसार असार १७ गते सोमबारदेखि असार २० गते बिहीबारसम्म पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै, एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

महाशाखाले सोमबारदेखि बिहीबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer