२०८२ बैशाख ३० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा हुने प्रदेशस्तरीय बडिबिल्डिङको तयारी पूरा


बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन (बडिबिल्डिङ) प्रतियोगिता हुने भएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रदेश खेलकुद विकास बोर्डको आयोजना असार २२ गते शनिबार प्रतियोगिता हुने बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको संयोजन तथा झापा जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको बताइएको छ ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिब २ सय जना खेलाडीको सहभागिता रहने समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)ले जानकारी दिए । उनका अनुसार प्रतियोगीले सम्बन्धित जिल्लाबाट मात्र सहभागिता जनाउन पाइनेछ ।

प्रतियोगतामा ५५, ६०, ६५, ७० र ७० केजीभन्दा बढी तौल समूहमा प्रतिस्पर्धा हुने संघका उपाध्यक्ष राजु दाहालले बताए । सबै तौल समूहबाट पहिलो हुनेले प्रतियोगिताको ओभरअलमा सहभागिता जनाउने छन् भने प्रत्येक तौल समूहबाट दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीले क्रमशः ७ हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै, प्रतियोगिताको ओभरअलबाट च्याम्पियन बन्ने खेलाडीले नगद १ लाख ५० हजार र आकर्षक ट्रफी पाउने छ । यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगिताका लागि अनुमानित २० लाख रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगितामा ट्रफी र मेडल ग्यालेक्सी फिटनेस बिर्तामोडले सौजन्य गर्ने जानकारी दिइएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा झापा जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका सल्लाहकार तथा ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र रानामगर, शारीरिक सुगठनका अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल, राम दाहाल, राष्ट्रिय खेलाडी तुल श्रेष्ठ, संघकी कोषाध्यक्ष निशा पोमुलगायतको उपस्थिति रहेको थियो ।

Adv footer