बिर्तामोड, असार २१ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले पुराना काठका घरहरू गाउँबाट सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुला गर्ने निर्णय गरेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि गाउँका घरका काठ स्थानान्तरणका लागि कर तिर्नुपर्ने लगायतका झन्झट थियो । सखुवालगायत जातका पुरानो काठ ओसारपसार गर्न कानुनी रुपमा असजिलो थियो ।
त्यस्तै, प्रदेश कृषि व्यवसायलाई प्रवर्धन अनुदान दिने भन्ने विषय रातो किताबमा र बजेट वक्तव्यमा पनि आएको विषयलाई संशोधन गर्ने, कोशी प्रदेश बीउबिजनका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।
कोशी प्रदेश जीव नाशक विषादी व्यवस्थापनको सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।