![](https://jhapatoday.com/wp-content/uploads/2024/07/exceldb.jpg)
बिर्तामोड, असार ३१ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यो आर्थिक वर्षमा ५ करोड १२ लाख २१ हजार ६२१ रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकको अठारौँ वार्षिक साधारणसभाको अवसरमा सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका अनुसार बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा ११ अर्ब ४१ करोड छ भने निक्षेप संकलन १४ अर्ब ७१ करोड रुपैयाँ गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकको कार्यक्षेत्र कोशी प्रदेशका ४५ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
संखुवासभाको खाँदबारी र धनकुटाको धनकुटा बजारमा शाखा सञ्चालनका लागि तयारी भइरहेको बैंकले जनाएको छ ।
आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको प्रमुख कार्यकारी अधिकृत डक्टर इन्द्रकुमार कट्टेलले बताए । उनले बैंकको वर्तमान गतिविधिको वारेमा जानकारी दिएका थिए ।
सञ्चालक समितिका अध्यक्ष गोयल र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा उद्घाटन गरेको साधारणसभामा सञ्चालक राजन शर्माले स्वागत मन्तव्य र सञ्चालक पर्शुराम दाहालले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष ढकाल, संस्थापक शेयरधनीहरु डक्टर रुपकप्रसाद खनाल र सुरेशकुमार वंशलले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामनासहितको मन्तव्य राखेका थिए ।