२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा कोरा राइडको तयारी पूरा, ‘गिफ्ट अ भिजन’ का लागि कोष बनाइने


बिर्तामोड, साउन २ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ ।

सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने परियोजनाका लागि कोष संकलन गर्नेबारे पनि छलफल भएको छ ।

यस कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारी गर्दै आएका विपन्न परिवारका व्यक्तिको बिर्तामोड आँखा अस्पतालको सहकार्यमा विशेष छुटमा मोतियाविन्दुको शल्यक्रिया गरिने अस्पतालका सञ्चालक विनोद दाहालले बताए ।

कम्तिमा १० जना विपन्न मानिसको दृष्टि प्रदान गर्नका लागि एक लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि राइडरलाई अन्य सहयोगीले प्रतिकिलोमिटर १०० रुपैयाँ प्रदान गर्न सक्ने छन् ।

यसैबीच, साइकल संस्कृतिको विकासक्रममा रहेको झापाको बिर्तामोडमा सन् २०२४ को झापा कोरा राइड च्यालेन्जको सम्पूर्ण तयारी पूरा भएको छ ।

यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी १६५ जना राइडरले अनलाइन दर्ता गरिसकेको झापाका साइकल अभियन्ता तथा राइडका संयोजक आकाश श्रेष्ठले जानकारी दिए ।

अनलाइनमार्फत दर्ता हुने राइडरले जर्सी, बफ, मेडल र डिजिटल प्रमाणपत्र प्राप्त गर्नेछन् भने विभिन्न पुरस्कार योजनामा सहभागी हुन पाउने छन् ।

यो वर्ष कोरा राइडमा झापाका पाँच पालिकाको फन्को लगाएर ५० किलोमिटरको यात्रा तय गरिनेछ । प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको छ ।

अर्का साइकल अभियन्ता पूर्ण गौलीका अनुसार सन् २०२४ को कोरा राइडको रुट तय भइसकेको छ । बिर्तामोड आँखा अस्पतालबाट सुरु हुने राइड चारपाने–शनिश्चरे–जयपुर–बुधबारे–बुधबारे ७ नम्बर–नवज्योति वन–मागुरमाडी सिमसार–बाँसबारी समिसार–धुलाबारी–धाइजनढाट–पीपलडाँगी–सालबारी हुँदै बिर्तामोडमा आएर टुंगिनेछ ।

त्यस्तै, राइडलाई अझ फराकिलो र व्यवस्थित बनाउन विभिन्न उपहार योजनाहरुसमेत समावेश गरिएको छ । उपहारअन्तर्गत डोको द रिसोर्टको तर्फबाट दुई जोडीलाई बस्ने सुविधाको व्यवस्था रहेको छ ।

त्यस्तै, इन्द्रेणी ब्यांक्वेटले हल, सोही हलमा बिर्तामोड आँखा अस्पतालले राइड समापनपछि खानाको व्यवस्था, मनकामना आइसक्रिम बिर्तामोडले आइसक्रिम, रोट्रयाक्ट क्लब अफ बिर्तामोडले ब्याच, बुधबारे साइक्लिस्टले बुधबारेमा होटल रोयल रत्नमा खाजाको व्यवस्था गरेको छ ।

झापा कोरा राइड २०२४ मा सहभागी सबै राइडरको बाइक सर्भिसिङमा प्याक एन्ड पेडलले ४० प्रतिशत छुट दिने व्यवस्था पनि उपहारमा समेटिएको छ ।

कोरा राइडको उपहार प्राप्त गर्न यात्राअगाडि अनलाइन दर्ता गरेर राइड पूरा गरिसक्नुपर्ने नियम रहेको अर्का साइकल अभियन्ता अशोक श्रेष्ठले बताए ।

तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई तपाईंको सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । यो शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer