२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानमा तालाबन्दी


बिर्तामोड, साउन २ । झापाको बिर्तामोडमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले कर्मचारीको तलब नदिएपछि लफडा सुरु भएको छ ।

तलब नपाएपछि प्रतिष्ठानले सञ्चालन गरेको शिक्षालयमा कार्यरत प्रशिक्षकहरुले प्रशासन शाखामा तालाबन्दी गरेका छन् ।

पाँच महिनादेखि तलब नपाएपछि प्रशिक्षकहरुले तालाबन्दी गरेका हुन् । करिब ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थापक प्रशिक्षक नविनकिशोर बिमलीले जानकारी दिए ।

पटकपटक फोन सम्पर्क गर्दा समेत फोन नउठाएपछि तालाबन्दी गरिएको बताइएको छ । तालाबन्दीपछि आज सञ्चालक समितिहरु समेत शिक्षालय आएका थिए । प्रशिक्षक र विद्यार्थीसँग समेत भएको छलफलले निकासको बदलामा समस्या थप गरेको बिमलीले बताए ।

प्रशिक्षक र अध्ययनरत विद्यार्थीले आज सञ्चालक समितिसँग छलफलका क्रममा चित्त नबुझाएपछि स्थिति तनावपूर्ण भएको थियो ।

शिक्षालयमा कार्यरत प्रशिक्षक र विद्यार्थीहरुले सञ्चालक समिति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । समयमा तलब नदिने, प्रयोगात्मक सामग्रीको व्यवस्था नगर्ने समस्याले विद्यार्थीको पठनपाठन समेत प्रभावित भइरहेको छ ।

विद्यार्थीहरुले नियमित पठनपाठन हुनुपर्ने, प्रयोगशालाको व्यवस्थापन गर्नुपर्ने लगायतका माग गरेका छन् । विद्यार्थीहरुले सबै रकम फिर्ता गर्दै अर्को प्राविधिक शिक्षालयमा स्थान्तरणको माग अघि सारेका छन् ।

उनीहरुले शिक्षालय समस्याग्रस्त भएपछि सिटिइभिटी, शिक्षा मन्त्रालय, प्रतिष्ठानको केन्द्रीय कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन समेत दिएका छन् ।

प्रत्येक विद्यार्थीहरुसँग १ लाख ७० हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्म रकम लिने गरिएको छ । स्रोत व्यवस्थापनमा समस्या नभए पनि भुक्तानी नदिएको प्रशिक्षकहरुको भनाइ छ ।

बाली विज्ञान, पशु विज्ञान र वन विज्ञान पठनपाठन गरिरहेको प्रतिष्ठानमा एक ब्याचका विद्यार्थीहरु पास आउट भइसकेका छन् ।

पास आउट भएका विद्यार्थीहरुले सर्टिफिकेट नपाएको, धरौटीबापत बुझाएको रकम फिर्ता नपाएको र छात्रवृत्ति पाउने विद्यार्थीहरुले बुझाएको लाखौँ रुपैयाँ फिर्ता नभएको विद्यार्थीहरुले दुखेसो पोखेका छन् ।

प्रतिष्ठान व्यवस्थापन समितिका अध्यक्ष दर्लामीले स्रोत व्यवस्थापनमा कठिनाइ भएको जानकारी दिए । उनले सिटिइभिटी र स्थानीय तहबाट प्राप्त गर्नुपर्ने बजेट नआएका कारण भुक्तानीमा कठिनाइ भएको बताए ।

शिक्षालयको समस्याका बारेमा जानकारी गराउदा समेत सुनुवाई नगर्ने, धम्क्याउने गरेको विद्यार्थीहरुको आरोप छ । प्रतिष्ठानको अवस्था संकटग्रस्त भएकाले विद्यार्थीहरुले आफ्नो भविष्य सुरक्षाका लागि स्थान्तरण गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer