२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा घट्यो खानेपानीको महशुल


दमक, साउन ६ । दमकको दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको न्यूनतम मासिक शुल्क घटाएको छ ।

नयाँ कायम गरिएको न्यूनतम महशुल शुल्क ५० रुपैयाँ छ । पानी महशुल दर पुनरावलोकन गर्दै साउन १ गतेदेखि लागु हुनेगरी न्यूनतम दर परिवर्तन गरिएको हो ।

यसअघि न्यूनतम मासिक शुल्क १३० रुपैयाँ रहेको थियो । संस्थाको नवनिर्वाचित सञ्चालक समितिले खानेपानी उपभोक्ताहरुको हितमा गम्भीर बन्दै शुल्कको न्यूनतम दर घटाएको जनाएको छ ।

त्यस्तै, नयाँ धारा जडान गरेबापत लाग्दै आएको शुल्कसमेत घटाइएको अध्यक्ष रवि केसीले जानकारी दिए । उनका अनुसार नयाँ धारा जडानको शुल्क १२ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

यसअघि नयाँ धारा जडानका लागि उपभोक्ताहरुले १५ हजार ३०० रुपैयाँ बुझाउँदै आएका थिए । दमकका १० बाहेक अन्य सबै वडामा खानेपानीको धारा पुगेका र हालसम्म उपभोक्ताको संख्या करिब १३ हजार नाघेको छ ।

यसैबीच, संस्थाले आर्थिक रुपमा अति कमजोर आयस्रोत भएका परिवारलाई लक्षित गरेर मागका आधारमा सार्वजनिक धारा जडान कार्य थालनी गर्ने केसीले बताए ।

बाह्रघरे खानेपानी आयोजनाको काम धमाधम

दमक-१० का बासिन्दालाई लक्षित गरी स्थानीयले बाह्रघरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आयोजनाको काम तीव्र बनाएका छन् ।

२०७५ सालदेखि त्यहाँ डिपिआरअनुसार पहिलो चरणमा सडक विस्तार, घेराबेरा, कार्यालय, ट्यांकी निर्माण, कल्भर्ट निर्माण, बोरिङ गाड्नेलगायत संरचनाको काम सम्पन्न भएको अध्यक्ष बोधराज न्यौपानेले बताए ।

आयोजना सम्पन्न भएपछि दमक-९ को आंशिक र वडा १० का सबै क्षेत्र गरेर १ हजार ६७१ घरधुरीले खानेपानी पाउने समितिका सचिव खगेन्द्र भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer