बिर्तामोड, साउन ११ । आर्थिक वर्ष २०८०/८१ मा काँकरभिट्टा नाका भएर चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्यबराबरको दुई लाख २८ हजार ११९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ ।
जसमध्ये एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्यबराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा ५७ करोड ५३ लाख ८० हजार मूल्यबराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, ३० करोड सात लाख ८० हजार मूल्यबराबरको १५ हजार ३९ मेट्रिक टन भिन्डी, २९ करोड ५७ लाख ४० हजार मूल्यबराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी आयात भएको छ ।
त्यस्तै, २९ करोड ३२ लाख ४० हजार मूल्यबराबरको १४ हजार ६६२ मेट्रिक टन स्कुस, २१ करोड १४ लाख ८० हजार मूल्यबराबरको १० हजार ५७४ मेट्रिक टन फर्सी र १५ करोड ६७ लाख २० हजार मूल्यबराबरको सात हजार ८३६ मेट्रिक टन बोडी भारतबाट आयात भएको छ ।
तरकारी जस्तै फलफूलमा पनि भारतीय निर्भरता अत्यधिक छ । गत आर्थिक वर्ष २०८०– ८१ मा काँकरभिट्टा नाका भएर चार अर्ब ८७ करोड ६५ लाख १८ हजार मूल्यबराबरको ९८ हजार ३९४ मेट्रिक टन ताजा फलफूल भारतबाट आयात भएको छ ।
दुई अर्ब ७७ करोड ३५ लाख ३६ हजार मूल्यबराबरको एक लाख १५ हजार ५६४ मेट्रिक टन आलु भारतबाट आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सोही अवधिमा ९९ करोड ७८ लाख ४० हजार मूल्यबराबरको २४ हजार ९४६ मेट्रिक टन भुइँकटहर, ४२ करोड १५ लाख मूल्यबराबरको लसुन, ४५ करोड १६ लाख आठ हजार मूल्यबराबरको तरबुजा र ३३ करोड ५२ लाख मूल्यबराबरको ड्रागन फ्रुट भारतबाट भित्रिएको छ ।