२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

‘यातायात व्यवस्था कार्यालय सार्न नमिल्ने’


बिर्तामोड, साउन १३ । मेची लेखापढी व्यवसायी संघ झापाले यातायात व्यवस्थाका कार्यालय सार्न अनुमति नदिन आग्रह गर्दै बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

झापाको बिर्तामोड–३ मा रहेको कार्यालय सार्न अनुमति नदिन आग्रह गर्दै संघका अध्यक्ष युवराज निरौला (कमल), सचिव ईश्वर सुवेदीसहित संघका पदाधिकारी र सदस्यहरुले आज आइतवार बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईंलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विगत लामो समयदेखि भाडामा रहेर केही समयअघि सामाजिक व्यक्तित्व बद्री खड्कालगायत परिवारवाट दिवंगत गौरीशंकर खड्काको स्मृितमा जग्गा उपलब्ध भएको थियो ।

उक्त जग्गा प्राप्तिसँगै यातायात व्यवस्था कार्यालय आफ्नै स्वामित्वको जग्गामा रहन सफल भएको यथार्थलाई बिर्सिएर थप जग्गाका लागि पहल गर्नुको सट्टामा निश्चित व्यक्तिहरुको चलखेलमा लागेर सेवाग्राहीको पहुँचबाट अपायक हुनेगरी सार्ने गतिविधि हुनु अत्यन्त खेदजनक भएको संघको बुझाइ छ ।

‘झापाको मुटु बिर्तामोडको बीच भागबाट जाने पूर्वपश्चिम महेन्द्र राजमार्ग नै यातायात व्यवसायी तथा सेवाग्राहीहरुको आवागमनको मुख्य आधार हो’, ज्ञापनपत्रमा भनिएको छ, ‘सोही राजमार्गको ५०० मिटरभित्रै रहेको यत्तिको पायक क्षेत्रलाई छाडेर बिर्तामोडबाट सात किलोमिटर भित्र लैजाने प्रपञ्च हुनुले नै यो कार्यालय सार्ने विषयमा राम्रै आर्थिक चलखेल भएको अनुमान लगाउन गाह्रो छैन ।’

विगतकै जग्गादाताले कार्यालय परिसर क्षेत्रमै थप जग्गा उपलब्ध गराउन तयार हुँदाहुँदै आवश्यक समन्वय नै नगरी सेवाग्राहीको पायक क्षेत्रलाई छाडेर अपायक क्षेत्रमा कार्यालय लैजाने चलखेल निन्दनीय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

यातायात व्यवस्था कार्यालयले नै टिप्पणी उठाएर बिर्तामोड नगरमा पत्राचार गर्ने कार्य हुनु आश्चर्यको विषय भएको संघको बुझाइ छ ।

यातायात व्यवस्था सार्ने जस्तो गम्भीर विषयमा बिर्तामोड नगरले सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर निर्णय गर्ने संघले अपेक्षा गरेको छ ।

यसैबीच, ज्ञापनपत्र बुझ्दै नगरप्रमुख प्रसाईंले अहिले नै यातायात व्यवस्था कार्यालय सार्न नहुने बताइन् । उनले बिर्तामोड झापा मात्र नभएर अन्य जिल्लाका सेवाग्राहीले पनि सेवा लिइरहेकाले तत्काल सार्न नमिल्ने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer