बिर्तामोड, साउन २२ । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापाका खेलाडीको विदाई गरिएको छ ।
झापाको अर्जुनधारा नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच पालिकाका चारजना खेलाडी र एकजना प्रशिक्षकको विदाई गरिएको हो ।
चार खेलाडीसहित पाँच सदस्यीय झापाली टोली साउन २५ गते शुक्रबार थाइल्यान्ड प्रस्थान गर्ने बताइएको छ । उनीहरु भोलि काठमाडौँका लागि हिँड्ने छन् ।
अगस्ट १० देखि १२ तारिखसम्म राजधानी बैंककको सुवर्णभूमि क्याम्पसमा हुने प्रतियोगितामा अर्जुनधाराका विवेक गिरी, सम्यात थापा, शैलेश तामाङ र प्रिजन नेम्वाङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा दिपेन्द्र दनुवार रहेका छन् ।
टोलीलाई अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, सचिव खगेन्द्र लिङदेनलगायतले जितको शुभकामनासहित विदाइ गरे ।