बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडमा डोङफेङ विद्युतीय सवारी साधनको बिक्री सुरु भएको छ । सहारा अटोमोबाइल्सले पूर्वमा डोङफेङ गाडीको आधिकारिक बिक्रेताका रुपमा बिक्री सुरु गरेको हो ।
चीनको ठुला गाडी निर्मातामध्येको एक डोङफेङका गाडीहरू विश्वका ६० देशमा बिक्री भइरहेको बताइन्छ । सहाराले सो कम्पनीका ११ र १४ सिट क्षमताका डोङफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यानहरू बिक्री सुरु गरेको डोङफेङ गाडीका इन्चार्ज एञ्जिल गिरीले बताए ।
११ सिट क्षमताको माइक्रो इभीमा ५० किलोवाट क्षमताको मोटर रहेको छ । यसमा भएको ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एकपटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
त्यसैगरी, १४ सिट क्षमताको माइक्रो इभीमा ८० किलोवाट क्षमताको मोटर राखिएको छ । यसमा भएको ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एकपटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ ।
गिरीका अनुसार उक्त रेन्ज गाडीलाई ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउँदा प्राप्त गर्न सकिनेछ । तर, बाटोको अवस्था, तापक्रम, चालकको अनुभव तथा तथा ट्राफिक अवस्थाले रेन्जमा तलमाथि हुनसक्छ ।
सहारामा सर्भिस, पार्ट्सको व्यवस्था रहने कम्पनीले जनाएको छ । दुवै गाडीमा रहेको ब्याट्रीको पाँच वर्ष वा पाँच लाख किलोमिटर वारेन्टी रहेको गिरीले बताए ।