बिर्तामोड, साउन ३१ । रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रेडियो सञ्चालक उमेश डालमिया दोस्रोपटक निर्वाचित भएका छन् ।
आज बिहीबार बिर्तामोडस्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारणसभाले डालमियाको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको हो ।
साधारणसभाले झापा उद्योग संघका वरिष्ठ उपाध्यक्ष, झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललाई सञ्चालक समितिको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
सचिवमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य गणेश पोखरेल र कोषाध्यक्षमा आदिवासी जनजाति पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष चूडामणि लिम्बू (विशाल नेम्वाङ) सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा माधव विद्रोही, सुब्रत न्यौपाने र लक्ष्मीप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
साधारणसभाले बिर्तामोडका नगरप्रमुख सञ्चालक पवित्रा महतरा प्रसाईंको अध्यक्षतामा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा हरि सापकोटा, गोपालबहादुर थापा, नरेन्द्र बराल र कुलप्रसाद खरेल छन् ।
सञ्चालक समितिका अध्यक्ष डालमियाको अध्यक्षतामा भएको साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनलाई सभाले पास गरेको छ ।