बिर्तामोड, भदौ ४ । हुलाकी राजमार्गअन्तर्गत भद्रपुरको मेची पुलदेखि गौरीगञ्जको रतुवा खेलासम्म पर्ने नदीमा बन्नुपर्ने पाँचवटा पुल दशक बित्दा पनि बनेका छैनन् ।
सो क्षेत्रमा कनकाईसहित रतुवा, भुतेनी, सानो माइखोला, लेहेरा खोलाका पाँचवटा पुल हालसम्म निर्माणाधीन छन् ।
२०६८ सालमा पप्पु–महादेव जेभीले ३४ करोड ९ लाख रुपैयाँमा निर्माण सम्झौता गरेको कनकाई नदीको पुल २०७२ जेठमै बनिसक्नुपर्ने थियो ।
हुलाकी राजमार्गकै मेची–रतुवा खण्डको भुतनी खोलाको पुल बनाउन थालिएको पनि ८ वर्ष भइसक्यो तर अझै निर्माण सकिएको छैन । सोही खण्डमा पर्ने बिरिङ पुल भने १३ वर्षमा एक वर्षअघि निर्माण सकिएको छ ।
२०७३ मा सुरु भएर २०७५ असारमै सक्नेगरी लामा बाम्ती जेभीले ६ करोड ७५ लाख ७३ हजारमा ठेक्का पाएको सानो माइखोला पुलले ८ वर्षसम्म पूर्णता पाएको छैन ।
लामा बाम्ती जेभीले नै ४ करोड ६४ लाख ४१ हजारमा ठेक्का लिएको २०७३ असारमा सुरु भएर २०७५ असारमा सकिनुपर्ने मेची–रतुवा खण्डको लेहेरा खोला पुलसमेत अलपत्र छ ।
रतुवा खोलाको चौडाइ ४०० मिटरभन्दा बढी भए पनि त्यहाँ २०५ मिटरको पुल बनाउन १७ वर्षअघि सरकारले ठेक्का लगायो ।
७० मिटर थप्न दुई वर्षअघि अर्को ठेक्का लगाइयो, त्यो काम अझै अधुरै छ । बाँकी १२५ मिटर पुल बन्ने टुंगो छैन ।
मोरङ–सुनसरी पुल आयोजनाले २०६४/०६५ मा १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा काठमाडौँको कालिका–ओसिए जेभीलाई निर्माण ठेक्का दिएको २०५ मिटरको पुल छोटो भएकाले खोलाको बीचमै छ ।
अहिले थप ७० मिटर पुल निर्माणको काम भइरहेको छ । पछिल्लोपटक २०७९ मा समता–आशिष–दिप जेभीले २० करोडमा ठेक्का लिएको थप ७० मिटर पुल निर्माण यसै वर्ष सक्ने लक्ष्य छ ।
सडक विभागअन्तर्गतको सुनसरी–मोरङ पुल आयोजनाले २०७५ मा निर्माण नै नसकिएको पुललाई ‘फाइनल’ भएको भनेर हुलाकी सडक आयोजनालाई हस्तान्तरण गरेको थियो ।