मेचीनगर, भदौ ४ । झापाको मेचीनगर–१० धुलाबारी बजारनजिक स्थायी बसोबास गर्ने ४८ वर्षीय उत्तम थापा अहिले हङकङको एउटा अस्पतालमा जीवन–मरणको दोसाँधमा रहेका छन् ।
करिब तीन महिनाअघि गैरकानुनी रुपमा चीनबाट हङकङ जाने क्रममा बोट ‘क्र्यास’ भएर समुद्रबाट उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको बताइन्छ । तर, के भएर बोट क्र्यास भयो भन्ने कुराको प्रमाण कसैले पनि दिन सकेको छैन ।
बोट क्र्यास हुँदा त्यो बोटले थापाको टाउकोमा लागेर उनी गम्भीर घाइते भएको हुनसक्ने हङकङस्थित महावाणिज्य दूतावासको अनुमान छ । महावाणिज्यदूत उदय रानाले भने, ‘उहाँलाई अस्पताल लगेर उहाँ नेपाली नागरिक हो भन्ने पत्ता लागेपछि महावाणिज्य दूतावासमा खबर आयो । मैले नेपालमा सम्पर्क गर्दा उहाँ मेचीनगरबासी हो भन्ने पत्ता लाग्यो ।’
थापाको ब्रेनमा रगत जमेकाले उनको अवस्था दयनीय बन्दै गयो । टाउकाको बाहिरीपट्टिको हड्डी ‘स्कल’ खोलेर केही दिन राखिएको हङकङमै बसोबास गर्ने नेपाली कांग्रेसका एकजना नेता वसन्त श्रीनेतले जानकारी दिए ।
निकै लामो समय भ्यान्टिलेटरमा राखेर उपचार गराइरहेका थापाले केही दिनअघि परिवारको कुरा गर्दा आँसु खसालेको उनले जानकारी दिए । तर बोल्ने/खाने अवस्था अहिले पनि नरहेको उनले बताए ।
महावाणिज्य दूतावासले एकजना अधिकृत नै खटाएर थापाको अवस्थाका बारेमा बुझ्न र सम्पर्क गराउन गरेको महावाणिज्यदूत रानाले जानकारी दिए । अहिलेसम्म उनको उपचारमा ६ लाख हङकङ डलर खर्च भइसकेको अनुमान गरिएको उनले बताए ।
उनले भने, ‘५ लाख हङकङ डलर (नेपाली रुपैयाँ एक करोड भन्दा माथि) को बिल १५ दिन अघि अस्पतालले हामीलाई पठाएको छ । त्यो बिल कसरी तिर्ने भन्ने चिन्ता छ । सरकारको पनि त्यो बिल तिरिदिने अवस्था छैन । गैरकानुनी रुपमा हङकङ पसेकाले यहाँको सरकारलाई उपचार गराउन दबाब दिने अवस्था पनि छैन ।’
आउने अगस्ट २८ तारिख अस्पतालले के गर्ने भन्ने निर्णय दिने बताएको महावाणिज्यदूत रानाले बताए । उनले भने, ‘अस्पतालले डिस्चार्ज दिएको अवस्थामा कसरी नेपाल पठाउन सकिन्छ भनेर अन्तर्राष्ट्रिय झापाली समाजसँग कुरा गरिरहेका छौँ ।’
थापाको उपचार भइरहेको प्रिन्सेस मार्गरेट हस्पिटलका चिकित्सकहरूले थापालाई ‘अब परिवारसँगै राख्दा हुने’ भन्ने प्रतिक्रिया दिइरहेका श्रीनेतले बताए । चिकित्सकहरूले थापाको अवस्थामा अहिले नै सुधार आएको भन्न नमिल्ने बताएको उनले बताए ।
थापाको अवस्थाका बारेमा विशेष चासो राखेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनको उपचारमा भएको खर्च व्यवस्थापनमा चुनौती रहेको र परिवारको कुरा गर्दा आँसु झारेकाले उनको सेन्स फर्केको अनुमान लगाउँदै उनलाई ठिक हुन्छ भन्ने आफूले आशा राखेको बताए ।
उनले भने, ‘भरसक त्यतै उपचार गराउने कुरामा हामी पनि लागेका छौँ । त्यहाँ रहेका नेपालीहरूलाई थापाको उपचारमा सहयोग गरिदिन म अपिल पनि गर्दछु ।’
-देशसञ्चारबाट