बिर्तामोड, भदौ ४ । झापाको शिवसताक्षीमा घरेलु हतियार खुर्पा प्रयोग गरेर पतिले पत्नीको हत्या गर्नुको कारण अंशसम्बन्धी विवाद रहेको देखिएको छ ।
आज साँझ ६ः३५ बजे भएको यो घटनामा पत्नी ३० वर्षीया रञ्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । उनका पति ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुर्पा प्रयोग गरेर रञ्जनाको हत्या गरेका थिए ।
यसरी भयो विवाद र हत्या
मृतकका ससुरा केही महिनादेखि बिरामी थिए । उनलाई उपचारका लागि परिवारमा आर्थिक संकट थियो । स्थानीय छिमेकीका अनुसार अधिकारी परिवार उपचार खर्च तत्काल जोहो गर्न सक्ने अवस्थाका होइनन् ।
बुवा छविलाल अधिकारीलाई उपचारका लागि मंगलबार बिहान बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लैजाने तरखर छोराले गरे । अस्पताल त लैजाने, बुबाको उपचार पनि गर्ने तर खर्चको व्यवस्थापनले ओमप्रसादलाई निकै सतायो ।
छिमेकीले दिएको २० हजारजति लिएर उनले बुवा छविलाललाई उपचारका लागि बिएन्डसी अस्पताल लगे । उनको उपचारमा चेकअप गर्नेजति सबै गरियो । चेकअप गरिएका सबै रिपोर्टहरू बुधबार बेलुकासम्ममा मात्र प्राप्त हुने भनेपछि बुवाछोरा घर आए ।
छोरा ओमप्रकाशले बुवालाई भाइ नाता पर्नेको घरमा राखे । र, आफू घर गए । घर पुगेको केही समयपछि रञ्जनाले ओमप्रकाशलाई सोधिन् ‘खोइ त बुवा ?’ उनले भने, ‘बुवा भाइको घरमा बस्नुभयो ।’
अनि उपचार खर्च कसरी जुटाउनुभयो त ? ओमप्रकाशले जे थियो त्यही बताइदिए । रञ्जनाले पतिसँग रिसाउँदै भनिन्, ‘अंश पनि अहिलेसम्म दिएको छैन । ऋण खोजेर उपचार गर्नुपर्छ । अब यो ऋण कसले तिर्छ ?’ पतिले भने, ‘बुवा निको भएपछि तिरिहाल्नुहुन्छ नि ।’
उनीहरुको यसैमा केहीबेर विवाद चल्यो । त्यही विवादले अप्रिय घटना भयो । घटनाका प्रत्यक्षदर्शीसमेत रहेका मृतकका १२ वर्षीय छोराले भने, ‘पहिला बाबाले एक मुक्का हान्नुभयो । त्यसपछि मम्मीले पनि एक थप्पड हान्नुभो । अनि बाबाले तँलाई काटेर मारिदिन्छु भन्नुभयो । मम्मीभित्र पसेर खुर्पा लिएर आउनुभयो र ‘लु मार’ भन्दै बाबाको हातमा दिनुभयो । रिसले चुर हुनुभएका बाबाले मम्मीलाई खुर्पा प्रहार गर्नुभयो र भुइँमा लडाउनुभयो । भुइँमा ढलेकी मम्मीलाई फेरि बाबाले खुर्पाले काट्नुभयो ।’
विवाद पुरानै
अधिकारी परिवारको अंशसम्बन्धीको विवाद केही वर्षदेखि चुलिँदै आएको थियो। पटकपटक गाउँलेले बसेर समाधान गर्ने प्रयास गरेका थिए । तर, दीर्घकालीन समाधान हुन सकेन । अघिल्लो दिन समाजका अगाडि हुन्छ भनेको कुरा भोलिपल्ट छविलालले हुँदैन भन्ने गरेका थिए । यसै कारणले परिवारमा कलह सुरु भएको स्थानीयबासी बताउँछन् ।
मृतकका १२ वर्षीय छोरा संस्कृत विद्यालयमा पढ्ने विद्यार्थी हुन् । घरको आर्थिक अवस्था नाजुक भएका कारण उनले बीचमै पढाइ छोड्नुपर्यो ।