बिर्तामोड, भदौ ५ । झापामा अवैध हातहतियारको बिगबिगी बढेसँगै झापाको अर्जुनधाराबाट घरमा अवैध रुपमा हतियार लुकाएर राख्ने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले अर्जुनधारा-४ दहीझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङदेम्बेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरमा अवैध रुपमा हातहतियार लुकाएर राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले हिजो राति ८ बजे उनको घरको खानतलासी लिएको थियो ।
त्यसक्रममा घरदेखि अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको छानोभित्र पहेँलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा एकथान कटुवा पेस्तोल भेटिएको थियो ।
पेस्तोलसहित उनलाई नियन्त्रणमा लिएर इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।
भारतसँग खुला सिमाना भएको झापामा अवैध हातहतियारको अवस्था भयावह देखिएको छ । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती बनेको प्रहरीको भनाइ छ । झापामा लगातार अवैध हतियार बरामद हुँदै आएको छ ।
यसअघि गत साताको शनिबार राति भरुवा बन्दुक र चोरीका सामानसहित अर्जुनधारामा तीनजना पक्राउ परेका थिए । अर्जुनधारा-४ का १९ वर्षीय आदित्य लिम्बू, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ पक्राय परेका थिए ।
त्यसको पर्सिपल्ट सोमबार दमकमा पेस्तोल र म्याग्जिनसहित दमक– ८ का ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका थिए ।