२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

घट्यो अलैँचीको निर्यात


बिर्तामोड, भदौ ६ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा अलैँचीको निर्यात केही घटेको छ । गत आर्थिक वर्षभन्दा ३२ करोड रुपैयाँको निर्यात घटेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ७ अर्ब ९३ करोडको अलैँची निर्यात हुँदा आर्थिक वर्ष २०७९–०८० मा ८ अर्ब २५ करोडको अलैँची निर्यात भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७८–०७९ मा ४ अर्ब ७७ करोडको निर्यात भएको थियो । नेपालबाट निर्यात हुने अलैँचीको ठुलो हिस्सा भारत रहेको छ । भारतबाहेक पाकिस्तानमा पनि अलैँची निर्यात हुँदै आएको छ ।

नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तुको अलैँची हो । वैदेशिक व्यापारघाटा कम गर्न ठुलो योगदान रहेको अलैँची देशभर ४३ भन्दा बढी जिल्लामा उत्पादन हुँदै आएको छ ।

करिब ७० हजारभन्दा बढी परिवार आश्रित रहेको अलैँची क्षेत्रबाट नेपालले वार्षिक अर्बौं रुपैयाँको निर्यात गर्दै आएको छ । उत्पादनमध्ये ४ प्रतिशत मात्रै नेपाली बजारमा खपत हुने अलैँची पूर्ण रूपमा निर्यात हुने गर्छ ।

जति यसका सम्भावना छन्, त्योभन्दा कैयौँ गुणा बढी अलैँची क्षेत्रमा समस्या रहेको नेपाल अलैँची व्यवसायी संघले जनाएको छ । नेपाल विश्वमै सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने देश हो ।

नेपालमा ५५–६० प्रतिशत अलैँची उत्पादन हुन्छ । बाँकी भारत र भुटानमा हुन्छ । तर, नेपालमा जति पनि अलैँची उत्पादन हुन्छ, प्रायः भारतकै बजारमा निर्भर भइरहेको छ भने थोरै मात्र हिस्सा पाकिस्तान जान्छ ।

नेपालबाट जाने अलैँची ६० प्रतिशत भारतमै खपत हुन्छ भने बाँकी ४० प्रतिशत नेपाली अलैँची ब्रान्डिङ गरी अन्य देश निर्यात गर्ने गरिएको छ ।

नेपालमा उत्पादन भएको अलैँची निकै गुणस्तरको हुन्छ । जसले गर्दा भारतले नेपालको अलैँची आयात गरी विश्वबजारमा आफ्नो ब्रान्ड बनाएर निर्यात गर्दै लाभ लिइरहेको छ ।

भारतले नेपालबाट आयात गरेको अलैँचीलाई प्रशोधन तथा प्याकेजिङ गरी साउदी अरब, युएई, बंगलादेश र पाकिस्तान निर्यात गर्छ ।

नेपालले पनि भारतबाहेक अन्य देशमा निर्यातका लागि प्रशोधन, प्याकेजिङ र व्यावसायिक सहजीकरणमा ध्यान दिने हो भने भारतमा बिक्री गर्ने मूल्यको तुलनामा बढी फाइदा लिन सक्छ ।

त्यसका लागि अलैँची खेतीलाई आधुनिक र व्यवस्थित गर्न तथा अन्तर्राष्ट्रिय बजारको आधिकारिक सुनिश्चितताका लागि पनि सरकारलाई पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer