बिर्तामोड, भदौ ६ । झापा बिर्तामोडको वाल्मीकि लिङ्कन कलेजमा अध्ययनरत विद्यार्थीले बाह्रदशी र काकाईका दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
उनीहरुले गौरीशंकर माध्यमिक विद्यालय र पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरेका हुन् ।
कलेजका बिबिएका विद्यार्थीले ती विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्रीहरु कपी, डटपेन र पेन्सिल वितरण गरेका थिए ।
परीक्षामा प्रयोग नभएका कपीका पन्ना संकलन गर्दै त्यसलाई पुनः प्रयोग गर्न सकिने शिक्षा दिन उनीहरुले विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा बिबिए संकायका प्रमुख निरज ओली, कार्यक्रम संयोजक प्रकाश घिमिरे, रुपेश भण्डारी लगायतले विद्यार्थीलाई सिक्ने र सिकाउने अभियानअन्तर्गत विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिएको बताए ।
वाल्मीकि लिङ्कन कलेज बिर्तामोडमा अध्ययनरत बिबिए सातौँ, पाँचौँ, चौथो, र दोस्रो सेमिस्टारका विद्यार्थी कार्यक्रममा सहभागी थिए ।