२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमकका दुई दर्जन होटलमा खुलेआम यौनधन्दा


बिर्तामोड, भदौ १० । झापा दमकको पूर्व बसस्टेन्डमा अन्डरग्राउन्डमा रहेको होटल साइनोमा कोही व्यक्ति छिर्नेबित्तिकै यौनकर्मी युवतीहरु छेउमै आइपुग्छन् । अनि उनीहरुले सिधै सोध्छन् –बस्ने हो ?

होटल साइनो यौन व्यवसायकै लागि सञ्चालन गरिएको रहेछ । त्यहाँ पेय पदार्थबाहेक खाने परिकार खासै पाइँदैन । हातमा बियर बोकेका चुरोट तान्दै गरेका युवतीहरु ग्राहकलाई सोध्ने काम मात्र गर्दैनन्, यौनकार्यका लागि उत्प्रेरित पनि गर्ने गर्छन् ।

होटल साइनोमा २० वर्षभन्दा कम उमेरका ७ जना यौनकर्मी युवतीहरु राखिएका छन् । त्यही होटलको कोठामा उनीहरुले यौनधन्दा गर्छन् । एकपटक यौनसम्पर्क गरेको एक हजार र रातभरि बसेको पाँच हजार रुपैयाँ सबैतिर कायम गरिएको छ ।

पूर्व बसस्टेन्डमै रहेको होटल मिलनमा दुईजना युवती राखिएका छन् । त्यसमध्ये एकजना बेलडाँगी शिविरकी राई थरकी शरणार्थी युवती हुन् । आफूले होटल मिलनमा काम गर्न थालेको पाँच महिना भएको उनले बताइन् ।

‘हामी दुईजना होटलमै हुन्छौँ, ग्राहक धेरै आएमा साहुनीले बाहिरबाट अरु केटी बोलाइदिनु हुन्छ’ उनले भनिन् । ग्राहकसँग यौन सम्पर्क गरेबापत साहुनीले हजार रुपैयाँ लिने गरेकोमा पाँच सय रुपैयाँ आफूले पाउने गरेको उनले बताइन् ।

दमकका धेरै होटलहरुमा त्यस किसिमको व्यवसाय सञ्चालन भइरहेकाले ग्राहक धेरै नआउने गरेको उनले बताइन् । नेपालीभन्दा भारतीयहरु ग्राहकको रुपमा बढी आउने गरेका छन् ।

‘रेड एरिया’ को रुपमा रहेको दमकको पूर्व बसस्टेन्डमै रहेका पूर्वेली, नेवा इन, ब्याकसाइड, माता मनकामना, केसीजस्ता होटल यौन व्यवसायका लागि कुख्यात मानिन्छन् ।

त्यस्तै, दमकको न्यु हिमाली होटल एन्ड लज, मिनाम होटल एन्ड लज, होटल सौगातजस्ता करिब दुई दर्जन होटलमा यौन व्यवसाय हुने गरेको बताइएको छ ।

त्यस्ता होटलहरु अधिकांश महिलाहरुले चलाएका छन् । काउन्टरमा बसेका होटल सञ्चालिकाहरु ग्राहकको प्रतीक्षा गरिरहेका हुन्छन् ।

प्रहरीले केही दिनअघि दमकका १८ वटा होटलमा छापा मारेको थियो । तर, कसैलाई पनि पक्राउ गर्न सकेन । प्रहरीले होटल ढावा, केसी, प्रिन्स, माता मनकामना, रुद्राक्ष, पुकार, नेवा इन होटल एन्ड लज, ब्याकसाइड, पूर्वेली, न्यु पाथिभरा, साइनो, हाम्रो, गुगल, न्यु ताप्लेजुङ, कञ्चनजंघा, सेवारो गेस्ट हाउस, सेभेन ओसियन, अमृत होटल एन्ड लजमा छापा मारेको दमक प्रहरीले जनाएको छ ।

ती होटलमा यौन व्यवसाय सञ्चालन गरिरहेको गुनासो आएपछि सर्च गरिएको एक प्रहरी अधिकारीले बताए ।

प्रहरीसँग लाइन मिलाएर धन्दा, देखावटी छापा

दमकमा खुलमखुला यौन व्यवसाय सञ्चालन भइरहे पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरी कारबाही गरेको छैन । प्रहरीसँग लाइन मिलाएर व्यवसाय गरिरहेकाले होटल व्यवसायीहरु सुरक्षित छन् ।

पत्रकार र स्थानीयहरुले गुनासो गरिहालेको खण्डमा दमक प्रहरीले देखावटी रुपमा होटलमा छापा मार्ने गरेको छ । प्रहरीसँग सेटिङ रहेकाले यौन व्यवसायका लागि डर नहुने होटल साइनोकी एक यौनकर्मी युवतीले बताइन् ।

प्रहरीले छापा मार्नुअघि नै आफूहरुलाई जानकारी गराउने गरिएको ती युवतीले बताइन् । केही दिनअघि प्रहरीले साइनो होटलमा छापा मार्ने कुरा थाहा पाएर अलर्ट भएका युवतीहरु प्रहरी टोली आएपछि पछाडिको ढोकाबाट भागेका थिए । प्रहरीसँग लाइन मिलाइदिने र हरेक सूचनाहरु दिने काम घुमुवा प्रहरीले गर्ने गरेको बताइन्छ ।

नियन्त्रणको प्रयास गर्छौं– डिएसपी थापा

विगत तीन वर्षदेखि दमक यौन अड्डाको रुपमा फस्टाउँदै गएको हो । प्रहरी प्रशासनको सहयोगमा अवैध यौन व्यवसाय विस्तार हुँदै गएपछि त्यसबाट सामाजिक असर पर्न थालेको छ ।

स्थानीयले पटकपटक यसबारे प्रहरीसँग गुनासो गरिसकेका छन् । दमकमा यौन व्यवसाय भइरहेको विषयमा आफूलाई जानकारी रहेको दमक प्रहरीका डिएसपी निशान थापाले बताए ।

विकृतिका रुपमा बढ्दै गएको यस व्यवसायलाई नियन्त्रण गर्ने प्रयास भइरहेको उनले बताए । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी प्रहरी प्रशासनकै भएकाले अब आफूहरु लागिपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer