बिर्तामोड, भदौ १४ । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् ।
महिलाले भिडियो कल गरेर आत्महत्या गरेको केही समयपछि पुरुषले पनि आत्महत्या गरेका हुन् ।
अर्जुनधार–६ लक्ष्मीटोलकी अन्दाजी २४ वर्षकी नम्रता पाठकले आज बिहान सोही स्थानका अन्दाजी ३५ वर्षीय कृष्ण ढुङ्गेललाई ह्वाट्स एपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् ।
घरको पूजाकोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आज बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा पत्नी र छोरी नभएको समयमा आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको पाइएको छ ।
पाठकले ह्वाट्स एपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । प्रहरीले उनीहरुबीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ ।