२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

उत्कृष्ट दियालो वनलाई पुरस्कारै पुरस्कार


बिर्तामोड, भदौ १७ । झापाको भद्रपुर १ पृथ्वीनगरस्थित दियालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देउकुमार लिम्बूले गत जेठ २६ मा उत्कृष्ट अध्यक्षको सम्मान पाए । त्यसको दुई महिनापछि गत साउन २५ गते दियालो सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय पुरस्कार नै प्राप्त गर्यो ।

जलथल क्षेत्रमा मात्र नभएर दियालोको लोकप्रियता देशभर चुलिँदो छ । उत्कृष्ट कार्य गरेबापत दियालोको खातामा एकपछि अर्को पुरस्कार जम्मा हुँदै गएको हो । २०६६ सालमा स्थापना भएको दियालोले २०७५ सालमा पहिलो पुरस्कार प्राप्त गरेको थियो ।

२०७५ बैशाख १४ गते सामुदायिक वन उपभोक्ता भद्रपुर महासंघले दियालोलाई उत्कृष्ट वन समूह घोषणा गर्दै चन्द्रमान राई स्मृति कोषबाट सम्मान गरेको थियो । त्यसपछि सामुदायिक वन उपभोक्ता महासंघ झापाले गत जेठ २६ गते दियालोका अध्यक्ष लिम्बूलाई उत्कृष्ट अध्यक्षको रुपमा सम्मान गर्यो ।

गत साउन २५ गते वन तथा भूसंरक्षण मन्त्रालयको वन तथा भूसंरक्षण विभागले दियालो वन समूहलाई ५० हजार रुपैयाँ राशिको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

देशभरका सामुदायिक वनहरुमध्ये दियालोले तेस्रो स्थान हासिल गर्दै सो पुरस्कार पाउन सफल भएको हो । सामुदायिक वनको संरक्षण, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवम गरिबी निवारणमा पुर्याएको योगदानको उच्च कदर गर्दै वनमन्त्री ऐनबहादुर शाही ठकुरीले सो पुरस्कार प्रदान गरेका थिए ।

त्यसबाहेक पनि दियालोले धेरै सम्मानपत्र र कदरपत्र पाएको छ । वन समूहको कार्यालयमा टांगिएका सम्मानपत्र र कदरपत्र देखाउँदै कार्यालय सचिव चित्राणी लिम्बू भन्छिन्, ‘उत्कृष्ट कार्य गरेबापत हामीले यी सम्मान र पुरस्कार पाएका हौँ ।’

एक समय वन फँडानी गरी उजाड बनेको दियालो अहिले हराभरा भएको छ । २७३.४५ हेक्टर वन क्षेत्रफलमध्ये २३० हेक्टरमा वन व्यवस्थापन गरिएको छ । वनमा औसत उत्पादनशील मौज्दात ४१६.४४ घनमिटर प्रतिहेक्टर, बिरुवाको औसत संख्या १२ हजार २०४ वटा प्रतिहेक्टर, लाथ्रा औसत संख्या २ हजार ४३७ गोटा प्रतिहेक्टर, पोलको औसत संख्या २४३ गोटा प्रतिहेक्टर, रुख औसत संख्या ६० गोटा प्रतिहेक्टर रहेको छ ।

वनलाई ६ खण्डमा विभाजन गरिएको छ । वनमा साल, कर्मा, अस्ना, खयर, हर्रो, बर्रो आदि जातका रुखहरु रहेका छन् भने अजिङ्गर, हात्ती, मृग, स्याल, बाँदर, सालक, खरायो, न्याउरीमुसा, गोहोरो, सर्प तथा विभिन्न प्रजातिका चराचुरुङ्गीहरु रहेका छन् ।

वन विकाससँगै आयआर्जनतर्फ पनि दियालो अरुभन्दा अगाडि छ । अरुलाई अणुकरणीय हुनेगरी दियालोले नै प्रांगारिक मल बनाउने कार्यक्रम सुरु गरेको थियो । प्रांगारिक मल उत्पादनले मिचाहा प्रजातिको नियन्त्रणसँगै माटोमा सुधार आएको छ ।

मिचाहा प्रजातिबाट प्रांगारिक मल उत्पादन गरी त्यसबाट आम्दानी बृद्धि भएको छ भने प्रांगारिक मल उत्पादनबाट अर्गानिक खेतीमा प्रोत्साहन मिल्नुका साथै माटो सुधार भएपछि उपभोक्ताहरु उत्साहित भएका छन् ।

२०८०–०८१ मा दियालोले १६ हजार ४४० केजी प्रांगारिक मल उत्पादन गरेको थियो । प्रतिकेजी ६ रुपैयाँका दरले बिक्री गर्दा ९८ हजार ६४० रुपैयाँ आम्दानी भएको थियो ।

दियालोले गरेको बेसार खेती कार्यक्रम पनि प्रभावकारी देखिएको छ । २०७९–०८० मा बेसारबाट ९१ हजार रुपैयाँ आम्दानी गरेको दियालोले २०८०–०८१ मा ५ लाख ६० हजार ६४० रुपैयाँ आम्दानी गरेको छ । यस वर्ष बेसारबाट ७ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको कार्यालय सचिव लिम्बूले बताइन् ।

दियालो वनमा तीनवटा पोखरी रहेका छन् । एउटा पोखरी दियालो महिला समूहलाई दिइएको छ । त्यसमध्ये एउटा पोखरीमा गत वर्ष माछापालन गरेर ८० हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष दुईवटै पोखरीमा माछा पालिएको छ ।

दियालोले फलफूल खेतीबाट पनि आम्दानी गर्न थालेको छ । गत वर्ष फलफूल बेचेर २५ हजार रुपैयाँ कमाएकोमा यस वर्ष ३० हजार रुपैयाँ पुगेको छ । कृषि वनअन्तर्गत नयाँ डेढ सयवटा लिची र दुई सयवटा कटहरको बिरुवा रोपिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

उनका अनुसार मसलाबाट समेत आम्दानी गर्न ८ सयवटा दालचिनी र १२० वटा तेजपताको बोट रोपिएको छ । पर्यापर्यटनमा पनि दियालोले प्रयास गर्न खोजेको देखिन्छ ।

२०७६–०७७ मा ४० लाख रुपैयाँ खर्च गरी चिल्ड्रेन पार्क निर्माण गरिएको थियो । तर, पार्कभित्रका संरचनाहरु हात्तीले नष्ट गरिदियो । त्यस पार्कलाई पुनर्निर्माण गरी वनभोजस्थलको रुपमा विकास गर्ने अध्यक्ष लिम्बूले योजना सुनाए ।

हालका वन समूह अध्यक्ष लिम्बू लगनशील छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि उनले व्यावसायिक रुपमा तरकारी खेती, पशुपालन र माछापालन गर्दै आएका छन् । उनकै अगुवाईमा दियालोमा थुप्रै काम भएका हुन् ।

उनी भन्छन्, ‘गर्न चाह्यो भने हुँदो रहेछ ।’ वन समूहमा आएपछि आफूहरुले २–३ वटा काम अघि बढाएको सम्झदै सर्वप्रथम २०७८ सालमा माइकेनियालाई तह लगाएर खुला ठाउँमा बेसार खेती सुरु गरेको उनले बताए । बेसारलाई उत्पादन गरी प्रशोधन केन्द्र पनि स्थापना गरेको उनले जानकारी दिए ।

अध्यक्ष लिम्बूका अनुसार त्यसमा फरेस्ट एक्सन नेपालले ठूलो सहयोग गरेको छ । सम्पूर्ण उपभोक्ताहरुको सक्रियता र लगनशीलताले नै दियालो वनले राष्ट्रिय पुरस्कार पाउन सफल भएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer