बिर्तामोड, भदौ १७ । साझा संस्थाको भवनमा रहेको अस्थायी प्रहरी चौकीलाई गरामनीका बासिन्दाहरुले कुनै पनि हालतमा सार्न नदिने भएका छन् ।
गरामनीको बीच बजारमा २० औँ वर्षदेखि साझा संस्थाको भवनमा रहेको प्रहरी चौकीलाई जनप्रतिनिधिसहितको आम भेलाले सार्न नदिने निर्णय गरेको हो ।
बिर्तामोड-८ को गरामनी बजारमा रहेको अस्थायी प्रहरी चौकीलाई अन्यत्र सार्ने कुरा सुनिएकोमा सार्ने भनिएको जग्गा प्रहरी चौकीको लागि अनुपयुक्त भएको हुँदा हालसम्म रहेको साविक स्थानमै व्यवस्थापन गर्ने गराउने भेलाले निर्णय गरेको छ ।
बिर्तामोड ९ का वडा अध्यक्ष हरिप्रसाद चम्लागाईंको संयोजकत्वमा भएको भेलामा वडा नम्बर ८ का वडा अध्यक्ष अजय कार्की, पार्टी प्रतिनिधिको उपस्थिति रहेको थियो ।
भेलाका सहभागीहरुले केही व्यक्तिले आफ्नो निजी फाइदाका लागि गरामनी क्याम्पसदेखि उत्तरपट्टि एकान्त ठाउँमा प्रहरी चौकी सार्न लागेको बताएका छन् ।
उनीहरुले जग्गा, भवनलगायत पर्याप्त पूर्वाधार रहेको साविक ठाउँमै प्रहरी चौकीलाई व्यवस्थापन गर्न छाडेर स्वार्थ समूहले सार्ने षडयन्त्र गरिरहेको ठहर गरेका छन् ।
गरामनी क्याम्पसदेखि उत्तरपट्टि हरि पाण्डे, नारायणसिंह राजवंशी र विष्णुप्रसाद राजवंशीले जग्गा दिन लागेको र सोही जग्गामा प्रहरी चौकी सार्न लागेको बताइएको छ ।
प्रहरी चौकीको लागि हरि पाण्डेले ३० धुर, विष्णुप्रसाद राजवंशीले १५ धुर र नारायणसिंह राजवंशीले १५ धुर जग्गा दिने र सो जग्गा १० दिनभित्र पास गरिदिने निर्णय भएको थियो ।
करिब २० वर्षदेखि अस्थायी प्रहरी चौकी साझा संस्थाको भवनमा रहेको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा त्यहाँ छजना प्रहरी कार्यरत रहेका छन् ।
साझा संस्थाले २०३३ सालमा सो भवन र गोदाम निर्माण गरेको थियो । बेवारिसे बनेको साझा संस्थाको पाँचवटा कोठा प्रहरी चौकीले उपयोग गरिरहेको छ भने गोदाम घर व्यवसायी विष्णु चुडालले प्रयोग गरिरहेका छन् ।
उनले कसलाई कति भाडा दिने गरेका छन् भनेर कुनै जानकारी छैन । साझा संस्थाको नाममा साढे ४ कठ्ठा जग्गा रहेकोमा एक कठ्ठा जग्गा बिक्री गरेर ऋण तिरेको बताइएको छ ।